फिल्म 'सिन्दुरे जात्रा'को गीत 'बाँसैको सुप्लाखे' सार्वजनिक भएको छ। प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा शब्द सुरज गैरे विवशको छ भने संगीत प्रशान्त सिवाकोटीले नै भरेका छन्।
प्रेमिल भावले भरिएको गीतमा प्रेम, लज्जा, इसारा, विश्वास र समर्पणलाई प्रस्तुत गरिएको छ। प्रेममा रहेका युवा-युवतीले एकअर्काप्रति व्यक्त गर्न नसकेका मनका भाव इसारामार्फत पोखेको प्रसंग गीतमा समेटिएको छ। मनका कुरा सुटुक्क साट्दै जीवन एकअर्कालाई समर्पण गर्ने प्रेमिल भाव गीतमा सुनिन्छ।
गीतको शब्दमा प्रेमीले प्रेमिकाको मुस्कान र उनको मौनताप्रतिको जिज्ञासा व्यक्त गरेका छन् भने प्रेमिकाले मनको मान्छे नजिक हुँदा अप्ठ्यारो लाग्ने लज्जाभाव प्रस्तुत गरेकी छन्।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली देखिएका छन्। उनीहरूले आकर्षक नृत्यमार्फत गीतको प्रेमिल भावलाई पर्दामा उतारेका छन्। शनिबार सार्वजनिक गीतले यतिबेला राम्रो चर्चा पाइरहेको छ।
सरोज पौडेल निर्देशित 'सिन्दुरे जात्रा' मा नेपाली फिल्म क्षेत्रको सफल जोडी विजय बराल र अञ्जना बराइलीको पुनः सहकार्य छ। 'पूर्णबहादुरको सारंगी'मा एकसाथ काम गरेका उनीहरूको यो दोस्रो सहकार्य हो। नेपाली फिल्म इतिहासकै सर्वाधिक सफल फिल्ममध्ये एक 'पूर्णबहादुरको सारंगी'मा दर्शकले रूचाएको यो जोडीलाई 'सिन्दुरे जात्रा'मा पुनः देख्न पाइनेछ।
फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरूङ, देशभक्त खनाल, विनोद परियारलगायत कलाकारको अभिनय छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन्।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह-निर्माता, दिनेश खड्का कार्यकारी निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन्।
फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु) छायाकार, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशकका रूपमा छन्।
'सिन्दुरे जात्रा' मंसिर १८ गतेदेखि प्रदर्शनमा आउनेछ।