हास्यव्यंगात्मक फिल्म 'तिरिमिरी झ्याइँ'को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। समीरको निर्देशनमा बनेको फिल्म आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो।
आइतबार सार्वजनिक पोस्टरमा फिल्मका कलाकारहरू आभास अधिकारी, सुमन कोइराला, रेयर राई, सुरज चौलागाईं र सरोज अर्याललाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ। उनीहरूको फरक-फरक हाउभाउले पोस्टरलाई रोचक बनाएको छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन्।
आभास अधिकारीको कथा तथा अवधारणामा बनेको फिल्म मनोरञ्जन र सामाजिक विषयवस्तुमा आधारित छ। समकालीन समाजका रमाइला तथा व्यंगात्मक पक्षलाई रोचक शैलीमा प्रस्तुत गरिने फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक परिवेशसँग पनि जोड्ने निर्माण पक्षको अपेक्षा छ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममार्फत ‘दले दाई’ उपनामले परिचित हास्य कलाकार सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गरेका छन्। फिल्ममा धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रेयर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतको अभिनय छ।
विशाल कक्षपतिको छायांकन रहेको फिल्ममा अभिषेक कार्कीको संगीत छ। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले पटकथा तथा संवाद तयार पारेका हुन्। फिल्ममा सियोन श्रेष्ठको कोरियोग्राफी छ।
प्रद्युम्न बोगटी (प्रविन) निर्माता रहेको फिल्ममा आभास अधिकारी कार्यकारी निर्माता छन्। भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सह-निर्माता छन्।