टेलिभिजन सिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ 'बल्छी धुर्बे' ले यही महिना फिल्म निर्माणको घोषणा गर्ने भएका छन्।
केही दिनमा फिल्मको नाम सार्वजनिक गर्नेगरी तयारी भइसकेको छ। त्यसका लागि स्क्रिप्ट लेखन, नाम विकास बोर्डमा दर्तादेखि अन्य तयारीको काम सकिएको छ।
मरिचमानले फिल्मबारे औपचारिक घोषणा गरिसकेका छैनन्। कस्तो कथामा फिल्म बन्ने? कलाकार को रहने? अहिले खुलाइएको छैन।
'टाइटल पोस्टर सार्वजनिक गर्दैै फिल्मबारे जानकारी दिने तयारी हो,' मरिचमानले भने।
बुझिएअनुसार, भदौंदेखि छायांकनमा जाने गरी उनले फिल्मको तयारी गरिरहेका छन्।
'मेरी बास्सै' बाट चर्चामा आएका मरिचमान अहिले 'हल्का रमाइलो' र 'जुठे' सिरियलमार्फत दर्शकमाझ पुगिरहेका छन्। यी दुवै सिरियल चर्चित छन्।
यसअघि सिरियलका चर्चित कलाकारहरू कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले फिल्म निर्माणमा पाइला चालिसकेका छन्। 'सक्किगोनि' टिमले बनाएको फिल्म 'लाज शरणम्' गत फागुनमा रिलिज भएको थियो।
यस्तोमा सिरियलका अर्का चर्चित कलाकार मरिचमानले पनि फिल्म निर्माणमा पाइला चाल्ने भएका हुन्।