'काठमाडौं फिल्म फेस्टिभल'मा प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुने भएका छन्।
काठमाडौं महानगरपालिकाले यही कात्तिक १३ (शुक्रबार) देखि १५ गतेसम्म तीनदिने फेस्टिभल आयोजना गर्न लागेको हो। फेस्टिभलमा नेपालसहित विभिन्न देशका फिल्म प्रदर्शन, अन्तरसंवाद, मास्टर क्लास, प्यानल डिस्कसन, सर्ट फिल्म प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिनेछ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै महानगरपालिकाले महोत्सवको उद्देश्य, कार्यक्रम र तयारीबारे जानकारी दिएको हो।
फेस्टिभलमा आजमीसँगै सांघाई फिल्म एकेडेमीको फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा, भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हासहितका अन्तर्राष्ट्रिय फिल्मकर्मी पनि सहभागी हुनेछन्।
पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फेस्टिभल काठमाडौंको कला, संस्कृति र सम्पदालाई फिल्ममार्फत विश्वसामु चिनाउने अवसर भएको बताइन्। उनले युनेस्कोबाट प्राप्त मान्यतालाई महानगरपालिकाले सम्मान मात्र नभई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरिन्।
'हामीले युनेस्कोबाट प्राप्त मान्यतालाई अवार्डका रूपमा मात्र लिएनौं, जिम्मेवारीका रूपमा लियौं,' सुनिताले भनिन्, 'काठमाडौंको सम्पदा संरक्षणसँगै त्यसको अभिलेखीकरण पनि आवश्यक छ। फिल्ममार्फत हाम्रा कला, संस्कृति, परम्परा र सम्पदासँग जोडिएका कथालाई भावी पुस्तासम्म पुर्याउन सकिन्छ।'
काठमाडौंले सन् २०२३ नोभेम्बरमा युनेस्कोको 'क्रिएटिभ सिटी अफ फिल्म'को मान्यता प्राप्त गरेको थियो। त्यसपछि महानगरपालिकाले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गर्ने प्रतिबद्धता जनाएको थियो। फेस्टिभललाई यही प्रतिबद्धता कार्यान्वयन गर्ने कार्यक्रमका रूपमा अघि बढाइएको सुनिताले जानकारी दिइन्।
उनका अनुसार काठमाडौंको मौलिकता, रीतिरिवाज, संस्कृति, परम्परा र सम्पदालाई फिल्ममार्फत अभिलेखीकरण गर्नु पनि फेस्टिभलको मुख्य उद्देश्य हो। महानगरपालिकाले सम्पदा संरक्षण र पुनःस्थापनाका काम गरे पनि तिनको इतिहास र सांस्कृतिक महत्वबारे पर्याप्त अभिलेख नभएको उनले बताइन्।
फिल्मले काठमाडौंको जीवनशैली र सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म पुर्याउन सहयोग गर्ने विश्वास लिएको उनले बताइन्। फेस्टिभलमार्फत नयाँ पुस्ताका कलाकारलाई अवसर दिने र ओझेलमा परेका स्थानीय कथालाई उजागर गर्ने लक्ष्य पनि राखिएको छ।
फेस्टिभल काठमाडौंवासीका लागि मात्र नभई देशभरका कलाकार र फिल्मकर्मीका लागि साझा कार्यक्रम भएको सुनिताले बताइन्।
महानगरपालिकाले फिल्मलाई सर्वसाधारणको पहुँचमा पुर्याउन यसअघि नै 'टोलटोलमा फिल्म फेस्टिभल' कार्यक्रमसमेत गरिसकेको छ।

शबाना आजमीको अन्तरसंवाद, मार्को मुलरको मास्टर क्लास
फेस्टिभलमा फिल्मसम्बन्धी विभिन्न संवाद, छलफल र मास्टरक्लास सञ्चालन हुनेछन्। कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा अभिनेत्री शबाना आजमीसँग 'फिल्म्स, फेस्टिभल्स एन्ड अ लाइफ वेल लाइभ्ड' विषयमा संवाद हुनेछ। सोही दिन भारतीय फिल्म प्रोग्रामर दीप्ति डी'कुन्हाले सिर्जनात्मक सहरको विकासमा फिल्म र फेस्टिभलको भूमिकाबारे छलफल गर्नेछिन्।
राष्ट्रिय सभागृहमा जापानी निर्देशक नाकामुराले यामागाता युनेस्को फिल्म सिटी सर्टस्को परिचयात्मक प्रस्तुति गर्ने कार्यक्रम तय छ।
कात्तिक १५ गते नेपाल पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले चलचित्र सौन्दर्यशास्त्र र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबारे मास्टरक्लास सञ्चालन गर्नेछन्। नेपाली फिल्म उद्योगको विगत, वर्तमान र भविष्यबारे पनि छलफल हुनेछ।
यी कार्यक्रमले नेपाली फिल्मकर्मी, विद्यार्थी र युवा फिल्म निर्मातालाई अन्तर्राष्ट्रिय अनुभव बुझ्ने अवसर दिने आयोजकको अपेक्षा छ।
स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन
फेस्टिभलमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, फ्रान्स, दक्षिण कोरिया, सिंगापुरलगायत देशका फिल्म प्रदर्शन गरिनेछन्। अन्तर्राष्ट्रिय पानोरमाअन्तर्गत जय नेपाल सिनेमाघरमा विभिन्न देशका फिल्म देखाइनेछन्।
फेस्टिभलमा नेपाली फिल्म इतिहासका महत्वपूर्ण कृति 'कुमारी' र 'के घर के डेरा'को विशेष प्रदर्शन पनि गरिनेछ। जापानको यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएको लघु फिल्मसमेत प्रदर्शन हुनेछ।
फेस्टिभलअन्तर्गत 'नेपाल पानोरामा'मा छोटा फिल्म तथा सर्टफिल्म प्रदर्शन गरिनेछन्। फेस्टिभलकी आर्टिस्टिक डाइरेक्टर रम्यता लिम्बूका अनुसार खुला आह्वानमा प्राप्त ७५ फिल्ममध्ये १० वटा छनोट भएका छन्।
छनोट भएका फिल्मका निर्मातालाई प्रोत्साहनस्वरूप एक लाख रूपैयाँ प्रदान गरिनेछ।
त्यस्तै, 'माई कल्चर, माई हेरिटेज' शीर्षकमा आयोजना गरिएको युथ भिडिओ च्यालेन्जमा प्राप्त ३५ भिडिओमध्ये ११ वटा छनोट भएका छन्।
फेस्टिभलकी क्युरेटर आयुषा श्रेष्ठका अनुसार कार्यक्रमको तयारी छ महिनाभन्दा अघिदेखि गरिएको थियो।
काठमाडौंको इतिहास, संस्कृति, वास्तुकला, परिकार र हस्तकलालाई फिल्ममार्फत प्रस्तुत गर्ने लक्ष्य रहेको उनले बताइन्। फेस्टिभलले स्थानीय समुदाय, युवा र नयाँ प्रतिभालाई जोड्ने उनको भनाइ छ।
फेस्टिभलका सबै प्रदर्शन नि:शुल्क
फेस्टिभलको उद्घाटन कात्तिक १३ गते वसन्तपुरमा हुनेछ। फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन्।
फेस्टिभलका सबै प्रदर्शन निःशुल्क हुनेछन्। तर सिट सुरक्षित गर्न निःशुल्क टिकट लिनुपर्नेछ।
महानगरपालिकाले फेस्टिभलमार्फत काठमाडौंको सम्पदा र संस्कृतिको अभिलेखीकरण गर्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लक्ष्य राखेको छ।
कार्यवाहक प्रमुख सुनिताले महोत्सवलाई एक पटकको कार्यक्रमका रूपमा मात्र नलिई निरन्तरता दिने योजना रहेको बताइन्।