कट्रिना कैफ आमा बन्न लागेको खबरले पछिल्ला केही दिनदेखि बलिउडमा चर्चा पाइरहेको छ।
कट्रिना र उनका पति विक्की कौशलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरूको टिमले पनि यो खबर न पुष्टि गरेको छ, न त अस्वीकार।
बलिउडसम्बन्धी समाचार लेख्ने अनलाइन 'बलिउड हंगामा' ले भने कट्रिना साँच्चिकै गर्भवती रहेको जनाएको छ।
बलिउड हंगामाले आफ्नो विश्वसनीय स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेको छ, 'कट्रिना गर्भवती भएको ६ महिना नाघिसकेको छ। अक्टोबर १५ देखि ३० भित्र उनी सुत्केरी हुने सम्भावना छ। कट्रिना र विक्कीले यो कुरा गोप्य राख्न चाहेका छन्। बच्चा जन्मिएपछि मात्र सार्वजनिक गर्ने तयारीमा छन्।'
कट्रिना कैफ र विक्की कौशलले सन् २०२१ डिसेम्बर ९ मा विवाह गरेका थिए।
विवाहपछि दुवैले सामाजिक सञ्जालमा लेखेका थिए, 'हाम्रो जीवनलाई यो क्षणसम्म ल्याइपुर्याउने प्रत्येक कुराप्रति मनमा प्रेम र कृतज्ञता छ। यो नयाँ यात्राको सुरूआतसँगै तपाईंहरूको माया र आशीर्वाद चाहन्छौं।'
कट्रिना कैफलाई पछिल्लो पटक टाइगर ३ (२०२३) र मेरी क्रिसमस (२०२४) मा देखिएको थियो। विक्की कौशल भने हालै 'छावा' मा देखिए, जुन अहिलेसम्म २०२५ को सबभन्दा सफल फिल्म बनेको छ।