रेहान प्रोडक्सनको ब्यानरमा बनेको नेपाली फिल्म 'मुगलान' आगामी पुस १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शत मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन्। यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ। उनीहरु फिल्ममा नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको संकेत गर्छ। पोस्टरमा अर्की कलाकार श्री शिवांसी पनि देखिएकी छन्।
आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा प्रभात, स्मारिका र श्री शिवांसीसहित दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायत कलाकारहरूको अभिनय छ।
यो फिल्मको निर्माता गोमन सिंह हुन् भने सह–निर्मातामा रिता चौधरी रहेकी छन्।
अजय रेग्मीको डिओपी रहेको फिल्मको सम्पादन तारा थापा 'किम्भे' ले गरेका छन्। निर्माण टिमका अनुसार ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ।