सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आइतबार 'चलचित्र सेन्सर बोर्डको कार्यविधि, समस्या र समाधानका उपायहरू' विषयक अन्तरक्रिया कार्यक्रम भएको छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल, मन्त्रालयका सचिव राधिका अर्याल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थिति रहेको थियो।
मन्त्रालयमा आयोजित छलफलमा चलचित्र सेन्सर प्रणालीलाई समयानुकूल र सहज बनाउने विषयमा केन्द्रित रही विचार-विमर्श गरिएको थियो।
छलफलमा चलचित्र क्षेत्रका विभिन्न विधाको प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको सहभागिता रह्यो। छलफलका क्रममा चलचित्र सेन्सर प्रक्रियामा देखिएका व्यावहारिक चुनौतीहरू, स्पष्ट र पारदर्शी कार्यविधिको आवश्यकता तथा चलचित्रमैत्री समाधानका उपायहरूबारे गहन र रचनात्मक छलफल भएको थियो।
कार्यक्रमबाट प्राप्त सुझावहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नीतिगत सुधारका लागि अध्ययन गरी आवश्यक कार्यविधि संशोधन गर्ने जनाएको छ। साथै, ऐनमा समावेश गर्नुपर्ने विषयहरूलाई राष्ट्रिय सभामा सुझावका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
यस पहलले चलचित्र सेन्सर प्रणालीलाई सहज बनाउँदै नेपाली चलचित्र उद्योगको दिगो विकासमा योगदान पुग्ने विश्वास लिइएको छ।
