यही वर्षको अन्त्यतिर प्रदर्शनमा आउने फिल्म 'मालती मंगले' मा विजय बराल र वर्षा राउत शीर्ष भूमिकामा देखिँदैछन्।
सोमबार मात्रै फिल्मको गीत 'ढुंगामाथि लेउ' को छायांकन काठमाडौंको जर्सिङ पौवामा गरिएको छ। मंगलबार इन्द्रावती नदीमा यसको छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
गीतको भिडिओमा अभिनेता विजय बराल फरक अवतारमा देखिनेछन्। अभिनेत्री वर्षासँग उनले रोमान्टिक गीतमा नृत्य गरेका हुन्। छायांकन स्थलबाट प्राप्त तस्बिरमा उनीहरू क्लासिक बलिउड लुकमा देखिन्छन्।
यो गीतमा एसडी योगीको संगीत छ भने रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन्। गीतको शब्द हर्क साउदका हुन् भने एरेन्ज रिकेश गुरूङको हो। भिडिओको कोरियोग्राफर भने रोशन बिके हुन्।
निर्माण टिमका अनुसार यो गीतपछि अर्को एक गीतको छायांकन बाँकी छ। फिल्मको अन्य छायांकन भने यसअघि सकिइसकेको छ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको 'मालती मंगले' का निर्माता रामकृष्ण ढकाल हुन्। सह-निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरूङ र स्वीकृति बस्नेत छन्। निर्देशक प्रकु पाण्डेयले फिल्म निर्देशन गरिरहेका छन्। कथा पनि निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन्।
फिल्ममा विजय बराल र वर्षा राउतसहित मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथमा सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरूङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय हेर्न पाइनेछ।

