लोकप्रिय नेपाली हास्य टेलिभिजन शो 'कमेडी दरबार' को दोस्रो सिजन सकिएको छ। निर्माण टिमले शुक्रबार साँझ आयोजित एक कार्यक्रममा सिजन २ औपचारिक रूपमा सकिएको जानकारी दिएको हो।
कार्यक्रमका निर्देशक तथा होस्ट बिक्की अग्रवालका अनुसार अब छिट्टै तेस्रो सिजन प्रसारणमा आउने छ। उनले भने, 'अब हामी छिट्टै सिजन ३ मा भेट्नेछौं। यसपटक अझ भव्य रूपमा आउने तयारीमा छौं।'
बिक्कीका अनुसार तेस्रो सिजनमा सेट डिजाइन परिवर्तन हुनेछ। त्यस्तै, केही नयाँ कमेडियनहरू समेत समावेश गरिनेछ।
निर्देशक श्रद्धा प्रसाईंका अनुसार शोको फर्म्याटअनुसार ‘महाराजा’ वा ‘महारानी’ (जज) मा थप केही नयाँ फर्म्याटसमेत थपिनेछ।
उनले भनिन्, 'नयाँ फर्म्याटबारे छिट्टै एक कार्यक्रम गरी विस्तृत जानकारी दिनेछौं।'
कमेडियन तथा नन-कमेडियन चर्चित कलाकारसँग प्रस्तुत हुँदै आएको यो शो दर्शकमाझ लोकप्रिय छ। शोमा गेष्ट कोअर्डिनेटरको भूमिका सञ्चारकर्मी गोपीकृष्ण चापागाईंले निर्वाह गर्दै आएका छन्।
उनका अनुसार, दुई सिजनभन्दा तेस्रो सिजन अझ रोचक र आकर्षक बनाउने योजनामा टिम लागेको छ। शो प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत दर्शकमाझ आइरहेको थियो।
'कमेडी दरबार' टिमले हाल कथानक फिल्म 'ककाकिकी' निर्माण गरिरहेको छ। हालै छायांकन सकिएको फिल्म पनि शोकै निर्देशक विक्की अग्रवाल र श्रद्धा प्रसाईंकै निर्देशनमा बनेको हो। यसको प्रदर्शन मिति भने तय भइसकेको छैन।