दीपक आचार्य निर्देशित फिल्म 'परान' को कमाइ १७ करोड नाघेको छ। फिल्मले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा १७ करोड ३९ लाख ४९ हजार ५०१ रूपैयाँ ग्रस कमाइ गरेको हो।
चलचित्र विकास बोर्डले सोमबार फिल्मको पछिल्लो कमाइ सार्वजनिक गरेको छ। बोर्डका अनुसार फिल्मको ६ लाख १२ हजार ८०८ वटा टिकट बिक्री भएका छन्।
कात्तिक १४ मा रिलिज 'परान' को व्यापार सुरूका दिनमा निराशाजनक थियो। निर्माण पक्षका अनुसार रिलिजको दिन फिल्मले ६ लाख रूपैयाँ पनि व्यापार गर्न सकेको थिएन्। दोस्रो दिन शनिबार पनि फिल्मको व्यापार निराशाजनक रहँदा धेरैले यसलाई हलबाट चाँडै ओर्लिने सूचीमा राखिसकेका थिए। यद्यपि, पारिवारिक कथामा बनेको फिल्मको 'वर्ड अफ माउथ' यति बलियो भयो कि एकाएक हलमा दर्शकहरूको भिड लाग्न थाल्यो। अन्ततः यो फिल्म यस वर्षकै अहिलेसम्मको सर्वाधिक कमाउने फिल्म नै बन्यो।
नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको 'परान' अहिले प्रदर्शनको सातौं हप्तामा छ। फिल्मले केही दिनमै प्रदर्शनको ५१ औं दिने मनाउने तयारी छ।
शेखर गोल्छा र रञ्जित आचार्य यो फिल्मका निर्माता हुन्।