अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म 'झरीपछिको इन्द्रेणी' को सिनेमा हलहरूले अग्रिम टिकट बिक्री सुरू गरेका छन्।
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको मल्टिप्लेक्सहरूले मंगलबारदेखि बुकिङ खुलाएका हुन्।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित वान सिनेमाज लगायतले बुकिङ खुलाइसकेका छन्। आईएनआई सिनेमाज, बिग मुभिजलगायतका मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी छ।
'झरीपछिको इन्द्रेणी' मा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, बिमोचन दवाडी, प्रियना आचार्य, जेसिका पोखरेललगायतको अभिनय छ।
यो फिल्मको गत आइतबार बालेन शाहको स्वरमा सार्वजनिक गीत 'आम नेपाली बुवा' यतिबेला चर्चामा छ। गीतलाई रिलिजको २४ घण्टामै युट्युबमा १० लाखभन्दा बढीपटक हेरिएको थियो। गीतको चर्चाले फिल्मको व्यापारमा समेत फाइदा पुग्ने विश्वास निर्माण टिमको छ।
'झरीपछिको इन्द्रेणी' ले सामाजिक-पारिवारिक कथा भन्छ। केही दिनअघि सार्वजनिक ट्रेलर हेर्दा फिल्मले एउटा सामान्य मानिसले आफ्नो स्वाभिमान र परिवारको रक्षाका लागि गर्ने संघर्षको कथा पेस गरेको बुझ्न सकिन्छ। 'झरी' पछि आउने खुसीको 'इन्द्रेणी' को प्रतिक्षा नै फिल्मको मुख्य सार रहेको ट्रेलरले संकेत गर्छ। यसले भ्रष्ट्राचार र बेथिति विरूद्धको कथालाई समेत प्रस्तुत गरेको ट्रेलर हेर्दा अनुमान मिल्छ।
नागराज इन्टरटेन्मेन्टको प्रस्तुति, अनिसा सेन्दाङ लिम्बु निर्माता रहेको फिल्मको सह-निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा छन्।
टेलिसिरियलका दर्शकमाझ चर्चित अर्जुन घिमिरेको यो पहिलो निर्देशकीय फिल्म हो।