अभिनेत्री प्रियना आचार्यले टेलिसिरियल 'सक्किगोनि' आफ्ना लागि विशेष रहेको बताएकी छन्।
सिरियलमा 'मुन्नी' नामको पात्रका रूपमा देखिएकी प्रियना छोटो समयमै दर्शकमाझ परिचित बनेकी थिइन्। अहिले 'सक्किगोनि' रोकिएको करिब एक वर्ष पुग्न लाग्यो।
'मुन्नी' पात्रमार्फत पाएको चर्चाबारे प्रियना सम्झिन्छिन्, 'दुई एपिसोडबाटै धेरै चर्चा पाउँदा के भइरहेको छ भन्ने लागेको थियो। बाटोमा हिँडिरहेको समयमा मुन्नी भनेर बोलाउँदा अचम्म लाग्यो। जुम्ला जाँदा पनि मानिसहरूले चिन्नु भयो। त्यसपछि हामी हरेक परिवारसम्म पुगेका रहेछौं भन्ने महसुस भयो। सिरियल हेर्ने दर्शक निकै धेरै हुनुहुँदो रहेछ भन्ने लाग्यो। अरू नपुगेका ठाउँसम्म पनि सिरियलको माध्यमबाट हामी पुगेका रहेछौं भन्ने भयो।'
'भद्रगोल' र 'सक्किगोनि' प्रियनाको करिअरका लागि टर्निङ प्वाइन्ट मानिन्छ। अभिनेत्री बन्न बेलायत छाडेर नेपाल फर्किएसँगै उनी नाटकमा काम गरिरहेकी थिइन्। त्यही समयमा दीपक आचार्य (काकु)मार्फत उनी त्यसबेलाको सिरियल 'भद्रगोल' मा जोडिएकी थिइन्। उनी जोडिएको छोटो समयमै 'भद्रगोल' टिमले 'सक्किगोनि' सुरू गरेको थियो।
'मेरो लागि यो सिरियल विशेष छ। किनकि कुमार, अर्जुन र दीपक दाइहरूले एउटा बिउ रोप्नुभयो। उहाँहरूले गोडमेल गर्नुभयो। जब फल फल्यो, त्यसपछि म खान पुगेको हुँ,' उनले भनिन्, 'पहिले भएका दुःख, संघर्ष नदेखी मैले एकैछिनमा लोभलाग्दो माया पाएँ। त्यसका लागि सम्पूर्ण टिमप्रति म अत्यन्तै आभारी छु।'
यो पनिः अभिनेत्री बन्न बेलायत छाडेकी प्रियना उर्फ 'मुन्नी'
सिरियल बन्द भएपछि दर्शकसँग दूरी बढेको उनी स्वीकार गर्छिन्। प्रियनाले अगाडि भनिन्, 'जब सिरियल बन्द भयो, घर-घर पुग्न छाड्यौं। मानिसले बिस्तारै बिर्सिँदै जानु स्वभाविक नै हो। अब फेरि दर्शकमाझ कसरी पुग्ने भन्ने तयारी गर्दा केही समय लाग्यो।'
पछिल्लो समय भने प्रियना कलाकारिताको नयाँ यात्रामा छिन्। गत वर्ष 'लाज शरणम' मा छोटो भूमिकामा देखिएकी उनी 'झरीपछिको इन्द्रेणी' मा शीर्षमध्येको भूमिकामा छिन्।
उनले भनिन्, 'फिल्मलाई सबै कलाकारले अन्तिम बिन्दुजस्तै, सपनाजस्तै मान्छन्। शुक्रबारदेखि झरीपछिको इन्द्रेणी आउँदैछ। आफूले गरेको मेहनत पर्दामा देखिने समय आएको छ। एकदमै उत्साहित छु।' आगामी दिनमा पनि राम्रो-राम्रो प्रोजेक्ट आइदिऊन् भन्ने उनको अपेक्षा छ।
'झरीपछिको इन्द्रेणी' फिल्म सिरियलकै निर्देशकमध्येका एक अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेका हुन्।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, अर्जुन घिमिरे, प्रियाना आचार्य, बिमोञ्चम दवाडी, जेसिका पोखरेललगायतको अभिनय छ।