नीर शाहको मुख्य अभिनय रहेको फिल्म 'परान' ले मंगलबार आफ्नो प्रदर्शनको ७५ औं दिन पूरा गरेको छ। यो अवसरमा निर्माण टिमले केही दिनका लागि टिकटमा ७५ रूपैयाँ छुटको व्यवस्था गरेको छ।
फिल्मका निर्माता रन्जित आचार्यका अनुसार 'परान' हेर्न छुटाएका दर्शकहरूलाई लक्षित गर्दै छुटको व्यवस्था गरिएको हो।
उनले भने, '७५ औं दिनको सेलिबेशनसँगै छुट उपलब्ध गराइएको हो। परान हेर्न बाँकी हुनुभएका दर्शकहरूलाई यो अवसरको सदुपयोग गर्न सक्नुहुन्छ।'
यो छुट खल्ती एपमार्फत टिकट काट्नेहरूका लागि मात्र लागू हुनेछ। खल्ती एपबाट टिकट काट्दा ७५ रूपैंया क्यासब्याक पाउन सकिनेछ।
'परान' को मंगलबार काठमाडौंमा मात्रै पाँचवटा शो रहेको थियो। खल्ती एपमा भोलीका लागी पनि ६ वटा शो उपलब्ध छन्। साथै 'परान' को कलाकार तथा निर्माण टिमले मंगलबार सिटी स्वायरमा ४ बजेको शोमा फिल्म हेरिरहेका दर्शकमाझ केक काटेर ७५ औं दिनको सेलिब्रेशन गरेको छ।
कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको 'परान' ले पछिल्लो शनिबार (७२ औं दिन) सम्ममा १७ करोड ७४ लाख २२ हजार १९० रूपैँया ग्रस कमाइ गरेको विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरेको थियो।
दीपकप्रसाद आचार्य (काकु) निर्देशित 'परान' मा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारहरूको अभिनय छ।
दीपक आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्।
देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी 'बाइस्कोप सिनेमा प्रा.लि.' ले फिल्म निर्माण गरेको हो।