प्रदर्शन तयारीमा रहेको फिल्म 'रमिताको पिरती' ट्रेलर सार्वजनिकपछि चर्चामा छ।
प्रायः लिड रोल अभिनेताको वरिपरि घुम्ने नेपाली फिल्मभन्दा फरक ‘रमिताको पिरती’ मुख्य पात्र रमिताको भावनात्मक यात्रामा केन्द्रित छ।
साँचो प्रेमको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतार-चढाव फिल्मको मुख्य विषय हो। फिल्ममा रमिताको भूमिका आना शर्माले निर्वाह गरेकी छन्। उनीसँगै फिल्ममा धिरज मगर र विनय श्रेष्ठको अभिनय रहेको छ। यसै फिल्ममार्फत गायक समीर श्रेष्ठले पनि अभिनय यात्राको सुरूआत गरेका छन्। यी कलाकारहरूको पात्रको सेरोफेरोमा कथा अगाडि बढ्छ।
फिल्ममा आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा समेत छिन्। महिला केन्द्रित कथामा पहिलोपटक काम गरेकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा फिल्ममा रहेको बताइन्।
'रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ। फिल्म ब्रेकअपबाट सुरू भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो। हामीले नियमित फिल्म भन्दा केही फरक रूपमा फिल्म तयार गर्ने कोसिस गरेका छौं', आनाले भनिन्।
उनले 'रमिता' पात्रलाई जीवन्त बनाउन निर्देशक सुदिप्ताको साथ लिएकी थिइन्। आनाले भनिन्, 'मैले करिब छ महिना निर्देशकसँग बसेर पात्रलाई डेभलप गरेँ। एक्सप्लोर गर्दै त्यो पात्रलाई आत्मसात सरेकी हुँँ। अहिले फिल्म रिलिज हुने बेला आउँदा निकै उत्साहित छु। यो पात्र र फिल्म मेरो लागि विशेष छ।'
फिल्म निर्माणको सुरूआतमा कलाकारका रूपमा मात्र स्क्रिप्ट सुनेर प्रोजेक्टमा आबद्ध भए पनि पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै आफूले कार्यकारी निर्माताको भूमिका पाएको बताइन्।
'सुरूमा कोर टिम सानो थियो। दैनिक मिटिङ, वर्कसप हुँदै निर्णय प्रक्रियामा संगै अगाडि बढ्यौं। निर्माता सागरजीले म माथि विश्वास गरेर कार्यकारी निर्माताको जिम्मेवारी दिनुभयो। जुन मेरो लागि सिकाइको ठूलो अवसर बन्यो।'
कार्यकारी निर्माताको भूमिकाले आफूलाई नयाँ किसिमको चाप र रचनात्मक स्वतन्त्रता दुवै दिएको अनुभव पनि उनले सुनाइन्। 'जिम्मेवारी धेरै हुन्छ, तर क्रिएटिभ फ्रिडम पनि उत्तिकै रमाइलो रहेछ', उनको भनाइ छ।
फिल्मले विशेषगरी युवा पुस्ता र युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने आनाको विश्वास छ। 'पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ। त्यसपछि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ', उनले भनिन्।
सोसल मिडियाको प्रभाव, बाह्य मान्यताको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गरेको आनाले बताइन्। रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर हुने देखाइन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको उनको भनाइ छ।
फिल्ममा आना र समीरले निभाएका पात्रहरूको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ। ती गीतहरूले प्रेमको सुरूआती अवस्था र पात्रहरूबीचको कनेक्सनलाई उजागर गर्छन्। आनाका लागि 'रमिताको पिरती' विशेष हुनुका तीन कारण छन्- यो पूर्ण रूपमा महिलाको कथा हुनु, महिला निर्देशकद्वारा लेखिएको तथा निर्देशित हुनु, र आफूले पहिलो पटक कार्यकारी निर्माताको जिम्मेवारी सम्हाल्नु।
सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर.पी. प्रोडक्सन एसोसिएट निर्माता रहेको छ। निर्देशक समेत रहेका सुवास कोइराला सह–निर्माता छन् भने सागर लम्साल निर्माता हुन्।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ। शिशिर विषंखे डीओपी रहेको फिल्मको सम्पादन सुनिल सिवाकोटीले गरेका छन्।
'रमिताको पिरती' काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
फिल्म माघ २३ देखि प्रदर्शनमा आउने तयारीमा छ।