यसवर्ष फागुनमा एकाध मात्रै नेपाली फिल्म रिलिज भए। प्रतिनिधिसभा निर्वाचनका कारण हलमा नयाँ नेपाली फिल्मको खडेरी देखिएको थियो। त्यो खडेरी अहिलेसम्म पनि कायम छ।
शुक्रबारदेखि नयाँ फिल्म 'हामी तीन भाइ' प्रदर्शन तयारीमा छ। यो चैतमा रिलिज हुन लागेको पहिलो नेपाली फिल्म हो। अब धेरैको ध्यान नयाँ वर्षमा केन्द्रित छ।
नयाँ वर्षको अवसर पारेर चैत २७ गतेका लागि 'राम नाम सत्य', '३६ को आँकडा' र 'डल्लेले इन्ट्री मार्यो' ले प्रदर्शन मिति तोकेका छन्। त्यस्तै, बैशाख १ गतेका लागि फिल्म 'पहाड' को रिलिज तय छ।
यीमध्ये विराज भट्ट, सुनील थापा, सुशील श्रेष्ठ, सुपुष्पा भट्टलगायत कलाकारहरूको शीर्ष अभिनय रहेको फिल्म 'राम नाम सत्य' ले प्रचारलाई तीव्र बनाएको देखिन्छ। माइकल चन्द निर्देशित यो फिल्मको गीत 'धागोले बाटेको' पनि यतिबेला चर्चामा छ।
त्यस्तै, तुलसी घिमिरे निर्देशित 'पहाड' को प्रचार पनि तीव्र छ। यसको टिजर, गीत लगायतका प्रचार सामाग्री सार्वजनिक भइसकेको छ। यसमा विपिन कार्की, मदनकृष्ण श्रेष्ठ, अरूण क्षेत्री, पञ्चमी घिमिरेलगायत कलाकारहरूको अभिनय छ।
चैत २७ लाई प्रदर्शन तोकिएको राजु गिरी निर्देशित 'डल्लेले इन्ट्री मार्यो' ले पनि फिल्मको प्रचार थालिसकेको छ। यद्यपि, यसको प्रचार सुस्त देखिन्छ। फिल्मका मुख्य कलाकार अभिनेता सागर लम्साल (बले) अर्को फिल्मको छायांकनमा व्यस्त रहेकाले प्रचारलाई तीव्र बनाउन कठिनाइ भएको निर्देशक राजु गिरीले बताए।
उनका अनुसार केही दिनभित्रै सागर काठमाडौं फर्किएपछि प्रचार–प्रसारलाई गति दिने योजना बनाइएको छ। 'फिल्मको ट्रेलर तयार भइसकेको छ। अहिलेसम्मको अवस्थामा फिल्म निर्धारित मितिमै रिलिज हुन्छ भन्नेमा छौं,' उनले भने, 'तर मुख्य कलाकार अर्को फिल्मको छायांकनमा हुँदा प्रचारमा केही असर परेको छ।'
चैत २७ लाई प्रदर्शन तोकिएको अर्को फिल्म '३६ को आँकडा' भने प्रचार-प्रसारमा देखिँदैछ। रेखा थापा, निरूता सिंह र पूजा शर्माको मुख्य अभिनय रहेको यो फिल्म अब पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने निश्चित भएको छ।
सेतोपाटीसँगको कुराकानीमा निर्देशक सबिर श्रेष्ठले फिल्मको प्राविधिक काम पूर्णरूपमा नसकिएको र अब प्रचार-प्रसारका लागि समय पर्याप्त नभएकाले चैत २७ मा रिलिज नहुने भएको बताए।
'प्राविधिक काम सकिएको छैन, अन्तिम चरणमा छौं। अब प्रचारका लागि समय कम हुन्छ। त्यसैले उक्त मितिमा नआउने भयो', श्रेष्ठले भने, 'अब टिमसँग सल्लाह गरेर केही दिनमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्छौ।'
यो फिल्ममा अभिनेत्री रेखा निर्माता समेत हुन्।
'३६ को आँकडा' सरेसँगै नयाँ वर्षमा तीन नेपाली फिल्मबीच प्रतिस्पर्धा हुने देखिएको छ।
नयाँ वर्ष नेपाली फिल्म उद्योगका लागि महत्वपूर्ण व्यापारिक समय मानिन्छ। विगतमा यही अवसरमा रिलिज फिल्मले राम्रो व्यापार गरेका थुप्रै उदाहरण छन्। त्यसैले यसपटक पनि कुन फिल्मले दर्शकको मन जित्छ भन्नेमा फिल्मकर्मीहरूको चासो बढेको छ।
यद्यपि, अन्ततः प्रचार, दर्शकको प्रतिक्रिया र रिलिज व्यवस्थापनले नै नयाँ वर्षको बक्स अफिस नतिजा निर्धारण गर्नेछ।
बैशाख १ पछि थुप्रै नेपाली फिल्मको प्रदर्शन तय छ। 'परालको आगो', 'लालीबजार' लगायतका फिल्महरू बैशाखमै रिलिज हुँदैछन्।