संगीतकार अर्जुन पोखरेलको निर्माणमा फिल्म 'बेहुली' बन्ने भएको छ।
पारस बम ठकुरी ‘कुल ब्वाय’ र दिव्या रायमाझी मुख्य भूमिकामा रहने फिल्मको बिहीबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभसाइत पूजा गरिएको छ।
'होस्टेल ३' फ्रेम्ड निर्देशक सशान कँडेलको निर्देशन रहने फिल्म प्रेमकथा तथा पारिवारिक विषयवस्तुमा आधारित हुनेछ। फिल्ममा पारस र दिव्याका साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सविन कट्टेल, समाइरा थापालगायत कलाकारहरूको अभिनय रहनेछ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने 'बेहुली' को निर्मातामा प्रताप राणा छन् भने कार्यकारी निर्माता सुमन थिङ तामाङ हुन्। सहायक निर्मातामा दुर्गा खरेल र रमेश सिलवाल छन् भने क्रियटिभ प्रोड्यूसर शंकर कोइराला हुन्।
लामो समयदेखि हिट गीत दिँदै आएका अर्जुन पोखरेल पहिलो पटक फिल्म निर्माणमा होमिएका हुन्। उनले आफ्नो डेब्यु निर्माणलाई लिएर उत्साह व्यक्त गरेका छन्। उनका अनुसार फिल्मको छायांकन यसै साताबाट सुरू हुनेछ।
फिल्मको मुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। 'बेहुली' हरितालिका तीजको अवसर पारेर आगामी भदौ १२ गते रिलिज हुनेछ।
नरेन्द्र मैनालीको छायांकन (डीओपी) रहने फिल्म विकास दाहालले सम्पादन गर्नेछन्।
