कैलालीको टीकापुरमा 'टीकापुर साहित्य महोत्सव २०८२' शुक्रबारदेखि सुरू भएको छ।
टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सुरू भएको त्रिदिवसीय महोत्सव यसपटक 'थारू साहित्य तथा सांस्कृतिक उत्सव' का रूपमा केन्द्रित गरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तलगायत अतिथिहरूले पानसमा दियो बालेर महोत्सवको औपचारिक उद्घाटन गरेका छन्। सोही अवसरमा महोत्सवको स्मारिका समेत विमोचन गरिएको थियो।
यस पटकको महोत्सव तेस्रो संस्करण हो।
महोत्सवको उद्घाटनअघि प्रसिद्ध नाट्यकर्मी अशेष मल्लको संयोजनमा टीकापुरका स्थानीय कलाकारहरूले नाट्य प्रस्तुति दिएका थिए। चैत १५ गतेसम्म चल्ने महोत्सवमा भाषा, साहित्य, कला, संगीत र समसामयिक मुद्दाहरूमा आधारित २७ वटा विभिन्न सत्रहरू सञ्चालन हुने आयोजकले जनाएका छन्।
महोत्सवको मुख्य आकर्षणका रूपमा कर्णालीमा जलविहार, थारू सांस्कृतिक नाच, सडक नाटक, लेखन कार्यशाला र सुदूरपश्चिमको मौलिक देउडा खेललाई समावेश गरिएको छ।
विशेषगरी लोपोन्मुख अवस्थामा रहेको थारू समुदायको रामलीला नाच प्रदर्शन गर्नु यस वर्षको विशेष कार्यक्रम रहेको छ। महोत्सवका संस्थापक संयोजक महेशविक्रम शाहका अनुसार थारू समुदायको समृद्ध मौलिकता, परम्परा र जीवनशैलीलाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउनु यस महोत्सवको मूल उद्देश्य हो।
'थारू समुदायको वैभवशाली संस्कृति प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो,' शाहले भने ।
महोत्सवमा देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार र चिन्तकहरूको सहभागिता रहेको छ।
महोत्सवको पूर्वसन्ध्यामा चैत ७ गतेदेखि नै नाट्य कार्यशाला र चैत ९ देखि ११ गतेसम्म साहित्यकार नीलम कार्की निहारिका र केशव दाहालको सहजीकरणमा लेखन कार्यशाला भइसकेका छन्।

