अभिनेता पल शाह अब फिल्म निर्माणतर्फ पनि होमिएका छन्।
पल शाह फिल्मस्को प्रस्तुतिमा फिल्म 'यानीमायाः रिदम अफ लभ' निर्माण हुने भएको हो। फिल्मको छायांकन जेठ पहिलो सातादेखि सुरू हुने तय छ।
यसैबीच, निर्माणपक्षले शुक्रबार फिल्मको फर्स्टलुक सार्वजनिक गरेको छ। यो पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन्। पोस्टरमा मुख्य कलाकार अभिनेता पल र नव-अभिनेत्री अञ्जना पुन मगर प्रस्तुत छन्।
पल र अञ्जनाले यसअघि म्युजिक भिडिओमा सहकार्य गरेका थिए। यी दुईको सहकार्य रहेको 'मायालाई पानको पात' हिट गीत हो।
फिल्म 'यानीमाया' ओम प्रतिकले निर्देशन गर्दैछन्। ओमले यसअघि फिल्म 'मोहर' निर्देशन गरेका थिए, पलको मुख्य भूमिका रहेको यो फिल्मलाई दर्शकले निकै रूचाएका थिए। अब, ओम र पल फेरि एउटै फिल्ममा टिमअप गरेका हुन्।
फिल्ममा पल शाह र चन्द्र ज्योती आलेको लगानी रहनेछ। 'यानीमाया' लाई 'प्रेमको लय' भनेर पनि परिचित गराइएको छ। त्यसैले यो फिल्म प्रेमकथामा निर्माण हुन लागेको बुझ्न सकिन्छ।
निर्माणपक्षले अन्य जानकारी क्रमिक रूपमा सार्वजनिक गर्दै जाने बताएको छ। यो वर्ष पलका 'मोहर' र 'आ बाट आमा' रिलिज भइसकेका छन्। दुवै फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेका छन्। त्यसैले पल आफैले निर्माण गर्न लागेको 'यानीमाया' पनि दर्शकका लागि प्रतिक्षामा रहने विश्वास गरिएको छ।
