चितवनमा आधुनिक प्रविधियुक्त '१८ डी सिनेमा' संचालनमा आएको छ। रामनवमीको अवसर पारेर शुक्रबार सिनेमाको उद्घाटन गरिएको हो। उद्घाटन अभिनेता प्रदीप खड्काले गरेका हुन्।
उद्घाटनका क्रममा १८ डीको अनुभव लिँदै अभिनेता खड्काले चितवनजस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक सिनेमा थपिनु सकारात्मक भएको बताए। उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधिमार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे।
चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको १८ डी सिनेमा फ्लाई ओभर इन्टरटेन्मेन्टद्वारा संचालनमा ल्याइएको तेस्रो शाखा हो। यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड सिनेमा विशेष प्रभावसहित अनुभव गर्न सक्नेछन्।
एक पटकमा ८ देखि १० जना दर्शकले मात्र सिनेमाको मज्जा लिन सक्नेछन्। यस सिनेमामा सिट घुम्ने, हिउँ पर्ने, पानी पर्ने लगायत दृश्यअनुसार विभिन्न अनुभूति दिने प्रविधि प्रयोग गरिएको छ, जसले दर्शकलाई १८ प्रकारका अनुभव प्रदान गर्ने जनाइएको छ।
कम्पनीका प्रमुख राम थापाले दर्शकको मागलाई ध्यानमा राख्दै चितवनमा तेस्रो शाखा विस्तार गरिएको जानकारी दिए। कम्पनीले यसअघि काठमाडौंको सिटी सेन्टरमा पहिलो तथा पोखरा डिज्नील्याण्डमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ।
पोखरामा गत साता अभिनेता राजेश हमालले '१८ डी सिनेमा' को उद्घाटन गरेका थिए।