आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'परालको आगो' को दोस्रो गीत 'दुःख सुख जिन्दगानी' सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउँदै उक्त गीत सार्वजनिक गरेको हो।
लोकलयमा आधारित गीतले प्रेमको भाव बोकेको छ। यसको भिडिओमा ग्रामीण परिवेशका युवायुवतीको माया र संघर्ष प्रस्तुत गरिएको छ।
गीतमा प्रकाश सपुत र शान्तिश्री परियारले स्वर दिएका छन्। प्रकाशकै शब्द तथा संगीत रहेको यस गीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन्। भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाश र सुहाना थापालाई देख्न सकिन्छ।
मायालु भावमा प्रस्तुत गरिएको सुहाना र प्रकाशको जोडी दर्शकमाझ रूचाइएको छ। उनीहरूको यो पहिलो सहकार्य हो। गीतको भिडिओको कोरियोग्राफर रामजी लामिछाने हुन्।
फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचार सामग्रीहरू क्रमशः सार्वजनिक गरिरहेको छ। यसअघि फिल्मको टिजर र पहिलो गीत 'उडी जाउँ भने, म पन्छी होइन' सार्वजनिक भइसकेको छ, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। पछिल्लो समय चर्चित गायक–गायिका प्रकाश र शान्तिश्रीको स्वरमा रहेको 'दुःख-सुख जिन्दगानी' गीतले पनि ग्रामीण परिवेशका युवा–युवतीबीचको प्रेम कथालाई प्रस्तुत गरेको छ।
फिल्म 'परालको आगो' लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। गुरू प्रसाद मैनालीको अमर कृति 'परालको आगो' बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतले अभिनय गरेका छन्।
हरिओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता सुशील पोखरेल हुन्।
फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाको हो। संकल्प भुजेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।
शनिबार बिहान सार्वजनिक 'दुःख सुख जिन्दगानी' ले यतिबेला राम्रो प्रतिक्रिया पाइरहेको छ।