मोडल तथा इन्फ्लुएन्सर प्रशंशा रायमाझीले फिल्ममा डेब्यु गर्ने भएकी छिन्।
दीपकप्रसाद आचार्यको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'चिरञ्जीवी भवः' बाट उनले नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्न लागेकी हुन्।
निर्देशक आचार्यले मुख्य अभिनेत्रीका रूपमा प्रशंशालाई अनुबन्ध गरिएको जानकारी दिए। 'कथाको पात्रमा सुहाउने लागेपछि अनुबन्ध गरेका हौं,' आचार्यले भने।
दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको फिल्म 'परान' व्यवसायिक रूपमा गतवर्षको सर्वाधिक हिट फिल्म हो।
उनले नयाँ वर्षको अवसर पारेर 'चिरञ्जीवी भवः' घोषणा गरेका थिए। यसमा कुमार कट्टेलको कथा रहनेछ भने लेखकमा सविन अधिकारी र वसन्त न्यौपाने छन्। अन्य कलाकारहरू तय हुन बाँकी रहेको जनाइएको छ।
'चिरञ्जीवी भवः' सामाजिक कथामा निर्माण हुन लागेको हो।
हाल फिल्मको कथालाई अन्तिम रूप दिने काम भइरहेको निर्माण पक्षले जनाएको छ। निर्माण टिमका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र फिल्मको छायांकन सुरू गर्ने तयारी छ।
प्रशंशाको कुरा गर्दा उनले थुप्रै म्युजिक भिडिओमा मोडलिङ गरेकी छिन्। सामाजिक सञ्जालमा लाखौं फलोअर्स भएकी प्रशंशा पछिल्लो समय 'मनमाया' गीतको भिडिओमा देखिएकी छन्।