निर्माण घोषणा गरिएको फिल्म 'सारथी'को शुभमुहूर्त गरिएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिम छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको हो।
फिल्मको छायांकन यही बुधबारदेखि गुर्जा खानी आसपासका रमणीय स्थानमा सुरू हुनेछ। करिब ४० दिनको पहिलो सेड्यूल तय गरिएको निर्माण टिमले जनाएको छ।
'सारथी' बाट सम्पादक तारा थापा 'किम्भे' निर्माता बनेका छन्। नेपाली सिनेमामा करिब तीन दशक लामो सम्पादन अनुभव बटुलेका थापाले दर्शकलाई उत्कृष्ट कथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माणमा होमिएको बताएका छन्।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यो फिल्मबाट कुमार गजुरेलले निर्देशनमा डेब्यु गर्दैछन्।
यस फिल्मबाट अभिनेता उत्तम प्रधान र अभिनेत्री निरूता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ ठूलोपर्दामा देखिन लागेका छन्। निर्माण टिमले यसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास लिएको छ।
अभिनेत्री निरूता शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन् भने उत्तम वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा जोडिने तयारीमा छन्।
फिल्ममा उत्तम र निरूतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरूङ, तुलसी राई, आशा विश्वकर्मालगायत कलाकारहरूको अभिनय रहनेछ।
सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी रहेका छन् भने लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल स्वयं छन्।