अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म 'स्टेशन' को निर्माण कार्य औपचारिक रूपमा सुरू गरेकी छन्।
'बोक्सीको घर' मार्फत बक्स अफिसमा ठूलो सफलता हात पारेकी केकीको यो नयाँ फिल्मको सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको हो। मुहूर्त कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो।
केकीले नयाँ वर्षको अवसर पारेर यस फिल्मको निर्माण घोषणा गरेकी थिइन्। निर्माण घोषणासँगै सार्वजनिक गरिएको 'थिम पोस्टर' ले फिल्मको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ। पोस्टरमा एउटा पुरानो काठको दराज र त्यहाँभित्र केही रहस्यमय सामग्रीहरू देखाइएको छ, जसले फिल्म सामाजिक ड्रामामा आधारित रहने संकेत गरेको छ।
२०८१ सालमा सफल बनेको 'बोक्सीको घर' पछि केकीले सोही टिमसँगको सहकार्यलाई 'स्टेशन' मा पनि निरन्तरता दिएकी छन्।
केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने ‘स्टेशन’ लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन्। फिल्मको कथा पनि स्वयं भारतीकै छ भने निर्माता बद्री अधिकारी हुन्।
फिल्मको शुभमुहूर्त गरिए पनि निर्माण पक्षले कलाकारहरूको नाम भने सार्वजनिक गरेको छैन।
'स्टेशन' मा मुख्य भूमिकामा को–को रहनेछन् भन्ने कुरालाई गोप्य राखिएको छ। केकी स्वयं फिल्ममा अभिनय गर्नेछिन् वा निर्मात्रीको भूमिकामा मात्र रहनेछिन् भन्ने विषय पनि अझै स्पष्ट भइसकेको छैन ।
वैशाख तेस्रो सातादेखि छायाकंन सुरू गर्ने तयारी रहेको फिल्म भदौ १९ गते देशभरका सिनेमाघरमा रिलिज हुने निर्माण पक्षले घोषणा गरिसकेको छ।