विश्वप्रसिद्ध नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स' को नेपाली संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा गरिएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करणको सुरूवात गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसन तालिका सार्वजनिक गरिएको हो।
सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरू भएको यो प्रतियोगिता हाल ५० भन्दा बढी देशमा विस्तार भइसकेको छ। नेपालमा यसको उद्देश्य नेपाली नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनु रहेको आयोजकले बताएका छन्।
पत्रकार सम्मेलनमा कार्यक्रमको ट्रेलर प्रदर्शन गरिनुका साथै निर्णायक समितिको परिचय गराइएको थियो। समारोहको मुख्य आकर्षणका रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर तथा समकालीन नृत्यका बादशाह टेरेन्स लुइसलाई कार्यक्रमको 'सेलिब्रेटी ग्रान्ड जज' को रूपमा घोषणा गर्दै उनको परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो।
टेरेन्स लुइस 'डान्स इन्डिया डान्स' र 'इन्डियाज बेस्ट डान्सर' जस्ता ठूला भारतीय रियालिटी शोका चर्चित निर्णायक हुन्। निर्णायक मण्डलमा लेजेन्डरी ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र ‘वल्र्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु रहनेछन्।
नेपालका ठूला डान्स रियालिटी शोहरूमा आफ्नो सफल निर्णायकको भूमिका निर्वाह गरिसकेका किरण थापाले पूरै राष्ट्रलाई आफ्नो नृत्यमार्फत हर्षित तुल्याउँदै आएका छन्।
यस्तै, टेरेन्स लुइस डान्स एकेडेमीबाटै प्रशिक्षित जेडी तमुले नेपाली डान्सरहरूलाई विश्वव्यापी पहिचान दिलाउने प्रमुख शक्तिको रूपमा काम गरिरहेका छन्।
कार्यक्रममा बोल्दै ‘वर्ल्ड अफ डान्स नेपाल' का राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म उपलब्ध गराउने उद्देश्यसहित प्रतियोगिता ल्याइएको बताए। कलात्मक निर्देशक जेडी तमुले नेपाली मौलिक संस्कृति र नृत्यलाई प्राथमिकतामा राखिने जानकारी दिए।
यस प्रतियोगितामा नेपालको रैथाने संस्कृति र नृत्य नै मुख्य केन्द्रमा रहनेछ भने अडिसनमा भारतीय डान्सरहरूले समेत सहभागिता जनाउन पाउनेछन्।
अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले यस प्रतियोगितालाई नेपाल–अमेरिका सांस्कृतिक सहकार्यको महत्वपूर्ण अवसर भएको बताए।
पत्रकार सम्मेलनमा अभिनेता दयाहाङ राईले नृत्यलाई आफूलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम बताउँदै आफ्नो रहनसहन र संस्कृतिलाई सँगै लिएर हिँड्न नवप्रतिभाहरूलाई आह्वान गरे। अर्का अभिनेता बुद्धि तामाङले नृत्य र नाटक दुवैले सुरूदेखि नै कला र संस्कृतिलाई बोक्ने धारणा राखे।
'फेस अफ वर्ल्ड अफ डान्स नेपाल' की रूपमा रहेकी नृत्यांगना कविता नेपालीले लुकेर रहेका प्रतिभाहरूका लागि यो सुनौलो मौका भएको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा पुग्न तयार रहन आग्रह गरिन्।
कला र मिडिया एम्बासडर अभिनेत्री परीक्षा लिम्बुले नृत्य मनोरञ्जन मात्र नभई यसले धेरै कुरा बोकेको हुने बताइन्। रणनीतिक सल्लाहकार अभिनेता प्रशान्त ताम्राकारले यति ठूलो अन्तर्राष्ट्रिय च्याम्पियनसिप नेपाल ल्याएकोमा आयोजकलाई धन्यवाद दिए भने चर्चित मिडिया व्यक्तित्व सिसन बानियाँले 'वर्ल्ड अफ डान्स' को फाइनल इभेन्ट विश्वमै पहिलो पटक 'प्याराडाइम टिभी' मार्फत युट्युबमा आउन लागेको जानकारी दिँदै 'नयाँ नेपाल यहाँ छ, हामी आउँदैछौं' भन्दै उत्साह व्यक्त गरे।
समारोहमा विजेताहरूलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो। निर्णायक किरण थापाले उक्त ट्रफी हेर्दा मात्र आकर्षक नभई २४ क्यारेट सुनको जलप लगाइएको (रियल गोल्ड प्लेटेड) रहेको जानकारी दिए। प्रतियोगितालाई मुख्य गरी चार वटा डिभिजनमा विभाजन गरिएको छ– अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन। प्रत्येक डिभिजनका विजेताले १ लाख रूपैयाँ नगद पुरस्कार, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन्।
यसबाहेक उत्कृष्ट पहिरन, उत्कृष्ट विषयवस्तु, र दर्शकको रोजाइ जस्ता विधामा पनि अवार्ड तथा गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ। प्रतियोगिताको सबैभन्दा ठुलो आकर्षण भनेको विजेताले विश्व मञ्चमा नेपालको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्न पाउने अवसर हो।
नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुने आयोजकले जनाएको छ।
तालिका अनुसार वैशाख १९ गते नेपालगन्ज, २२ गते बुटवल, २६ गते पोखरा, ३० गते काठमाडौं र जेठ २ गते इटहरीमा अडिसन हुनेछ।
सेमिफाइनल जेठ २१ गते र ग्रान्ड फिनाले जेठ २३ गते सम्पन्न हुनेछ।