फिल्म 'राम नाम सत्य' लगानी सुरक्षित हुने बाटोमा रहेको निर्माणपक्षले जनाएको छ।
वितरक गोविन्द शाहीका अनुसार चैत २७ गतेबाट प्रदर्शनमा आएको फिल्मले सोमबारसम्म घरेलु बक्स अफिसमा ३ करोड २० लाख रूपैयाँ ग्रस कलेक्शन गरेको छ।
शनिबारसम्म चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मको कमाइ करिब २ करोड ८० लाख रूपैयाँ थियो। केही हलहरूको व्यापार विवरण बोर्डमा समयमै नजोडिने भएकाले वितरकको हिसाबमा वास्तविक व्यापार केही बढी रहेको शाहीको भनाइ छ।
फिल्मले अमेरिकाबाहेक अन्य विदेशी बजारबाट ७० लाख रूपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले जानकारी दिएका छन्। अमेरिकाका विभिन्न सहरमा अप्रिल २४ तारिखदेखि २०० शोसहित प्रदर्शन सुरू हुने जनाइएको छ। निर्माणपक्षले अमेरिकामा फिल्मलाई सेयर प्रतिशतमा बिक्री गरेको जनाएको छ। त्यसबाट पनि राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ।
यस्तै, निर्देशक माइकल चन्दका अनुसार फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटललाई ७२ लाख रूपैयाँमा बिक्री गरिएको छ। डिजिटल अधिकारबाट प्राप्त रकमले निर्माणपक्षलाई थप राहत मिलेको देखिन्छ।
करिब ३ करोड रूपैयाँ बजेटमा निर्माण भएको फिल्मबाट आफूहरू सुरक्षित हुने अवस्थामा पुगेको निर्देशक चन्दले बताएका छन्। घरेलु बक्स अफिस, विदेशी बजार र डिजिटल आम्दानी जोड्दा फिल्मले लगानी उठाउने उनले बताए।
स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा बनेको ‘राम नाम सत्य’ मा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनील थापा र प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय रहेको छ।
पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरूको व्यापार उत्साहजनक नरहेको अवस्थामा 'राम नाम सत्य' ले भने बजारमा केही आशा जगाएको निर्माणपक्षको दाबी छ। फिल्म दोस्रो सातामा प्रदर्शनरत छ।