फिल्म 'राम नाम सत्य' र 'पहाड' को कमाइको पछिल्लो विवरण सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्म 'राम नाम सत्य' को कमाइ ३ करोड ३१ लाख ५८ हजार ८२१ रूपैयाँ पुगेको छ। चैत २७ गते रिलिज फिल्मले गत शनिबारसम्म उक्त कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मको १ लाख १७ हजार ५६४ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, फिल्म 'पहाड' ले ६१ लाख ७७ हजार २६२ रूपैयाँ ग्रस कमाइ गरेको छ। वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले उक्त कमाइ गर्दा १९ हजार ५४३ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
माइकल चन्द निर्देशित 'राम नाम सत्य' एक्सन ड्रामा हो। यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुनिल थापा, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ।
त्यस्तै, तुलसी घिमिरे निर्देशित 'पहाड' सामाजिक कथामा बनेको फिल्म हो। यसमा मदन कृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, पञ्चमी घिमिरेलगायत कलाकारहरूको अभिनय छ।
दुवै फिल्म नयाँ वर्षको अवसर पारेर रिलिज भएका हुन्।