मुलुकको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक 'जय नेपाल सिनेमा हल' पुनः सञ्चालनमा आउने तयारीमा अघि बढेको छ। लामो समय बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्राप्त गरेको हो।
वि.सं. २०२७ सालदेखि सम्बन्धित मन्त्रालयमार्फत नवीकरण हुँदै आएको यो हल काठमाडौंको सिनेमा संस्कृति र दर्शक स्मृतिसँग गहिरो रूपमा जोडिएको नाम हो। दरबारमार्ग क्षेत्रसँग जोडिएको यस हलले दशकौंसम्म नेपाली, हिन्दी तथा अंग्रेजी चलचित्र प्रदर्शन गर्दै राजधानीको चलचित्र प्रदर्शन इतिहासमा विशिष्ट पहिचान बनाएको थियो।
कोभिड-१९ महामारीपछि उत्पन्न परिस्थितिका कारण वि.सं. २०७८ साल असोज ४ गतेदेखि हल बन्द अवस्थामा थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सञ्चालकमध्येका एक गोपालकाजी कायस्थलाई सञ्चालन अनुमतिपत्र प्रदान गरेका छन्।
आवश्यक प्रक्रिया पूरा गरी अनुमतिपत्र प्राप्त भएसँगै जय नेपाल सिनेमा हल पुनः सञ्चालनमा आउने बाटो खुलेको छ। आधुनिक व्यवस्थापन र आवश्यक मापदण्डसहित हल सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ।
यस पुनः सञ्चालनले काठमाडौंको सिनेमा संस्कृतिलाई पुनर्जीवित गर्न, दर्शकलाई थप विकल्प उपलब्ध गराउन तथा चलचित्र प्रदर्शन बजारलाई थप सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बोर्डले प्रचलित मापदण्ड र प्रक्रियाअनुसार चलचित्र घर सञ्चालन अनुमतिपत्र प्रदान गर्दै आएको जनाएको छ। 'ऐतिहासिक पहिचान बोकेको जय नेपाल सिनेमा हल पुनः सञ्चालनको तयारीमा अघि बढ्नु चलचित्रकर्मी, दर्शक र हल व्यवसायी सबैका लागि उत्साहजनक समाचार हो,' अध्यक्ष डीसीले बताए।
बोर्डका अनुसार हाल देशभर १७० भन्दा बढी सिनेमा हल सञ्चालनमा छन्। चालु आर्थिक वर्षभित्र हलको संख्या २०० भन्दा माथि पुर्याउने लक्ष्य रहेको पनि बोर्डले जनाएको छ।