पाँचौं नेपाल ग्रामीण चलचित्र महोत्सवमा 'मोहर' उत्कृष्ट फिल्म घोषित भएको छ। त्यस्तै, नाजीर हुसेन उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।
सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिका सर्लाहीको सहकार्यमा सर्लाहीमा महोत्सव भएको हो।
तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएका थिए। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो। साथै, मधेशका कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए।
पहिलो पटक मधेश प्रदेशमा आयोजना गरिएको महोत्सवको पाँचौं संस्करणले मधेशमा नेपाली सिनेमाको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याएको आयोजकले जनाएको छ।
सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. सहभागी थिए। कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिँदै सर्लाहीमा महोत्सव आयोजना हुनु स्थानीय क्षेत्रको प्रचार–प्रसारका लागि महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा चलचित्र निर्माता छविराज ओझा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी तथा हरिपुर नगरपालिकाका प्रमुखको उपस्थिति रहेको थियो। चन्द्रनगर गाउँपालिकाको नाढीमन तालमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कलाकार तथा स्रष्टाहरूलाई पुरस्कार वितरण गरिनुका साथै नाढीमन तालको विषयमा लेखिएको पुस्तकको विमोचन पनि गरिएको थियो।
यी हुन् महोत्सवका अवार्ड विजेताहरू
१. उत्कृष्ट फिल्म – मोहर
२. उत्कृष्ट निर्देशक – ओम प्रतीक गुरूङ (मोहर)
३. उत्कृष्ट अभिनेता – नाजीर हुसेन (गुन्युचोलो)
४. उत्कृष्ट अभिनेत्री – सुरक्षा पन्त (कोशेढुंगा)
५. उत्कृष्ट पटकथा – समुन्द्र भट्ट÷नाजीर हुसेन (गुन्युचोलो)
६. जुरी अवार्ड – निर्देशक मिलन तामाङ (माइतीघर)
७. इन्करेजमेन्ट अवार्ड – मन्जिल कुमार (कोशेढुंगा)
८. उत्कृष्ट सम्पादन – नहकुल खड्का (कोशेढुंगा)
९. उत्कृष्ट छायाँकार – बाबु श्रेष्ठ (कोशेढुंगा)
१०. उत्कृष्ट आदिवासी फिल्म – नाक्छोंग, निर्देशक किरण राई
११. उत्कृष्ट छोटो फिल्म – निलो आकाश, निर्देशक निर्मल पौडेल