निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन्।
सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'तिमी मेरो म तिम्रो'लाई लामिछानेले निर्देशन गर्न लागेका हुन्।
काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको औपचारिक घोषणा गरिएको हो। निर्देशक लामिछानेका अनुसार फिल्म प्रेमकथामा आधारित रहनेछ। नेपालमा प्रेमकथामा आधारित फिल्मको संख्या तुलनात्मक रूपमा न्यून रहेको उल्लेख गर्दै उनले दर्शकले रूचाउने खालको फिल्म निर्माण गर्न लागेको बताए।
फिल्ममा मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रिहान गिरी, नव–अभिनेत्री प्रतिमा थापालगायत कलाकारहरू रहनेछन्। फिल्मको संगीत युग भुसालले गर्नेछन्।
आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने फिल्मको सह–निर्मातामा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन्। फिल्मको कार्यकारी निर्मातामा सन्तोष अधिकारी र लाइन प्रोड्युसरमा तेजविक्रम केसी रहेका छन्।
नरेन्द्र मैनालीको डीओपी रहने फिल्म मनिष गौतमले लेखेका हुन्।