सुपरहिट फिल्म 'आबाट आमा' को सिक्वेलको शुभमुहूर्त गरिएको छ।
पल शाहको मुख्य भूमिका रहने फिल्म 'आबाट आमा २'को सोमबार बिहान पाटनस्थित बंगलामुखी मन्दिरमा शुभुमुहूर्त गरिएको हो। सोमबारकै साइत पारेर निर्माण टिमले स्क्रिप्टको पूजाअर्चना गर्दै काम अघि बढाएको हो।
'आबाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड १५ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको थियो।
अघिल्लो शृंखलाकै केही कलाकारहरूले 'आ बाट आमा २'मा निरन्तरता पाएका छन्। पहिलो फिल्मका कलाकारहरू विपना थापा, पल शाह, प्रदीप रावत, गजित बिष्ट लगायत पुनः देखिने भएका छन्। साथै आकाश श्रेष्ठ र नरेन खड्का पनि जोडिएका छन्।
अभिनेत्रीहरू भने अझै चयन हुन बाँकी छन्। साथै अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिए। उनका अनुसार केही दिनमै सम्पूर्ण कलाकारहरूको टुंगो लाग्नेछ।
निर्देशक पन्तका अनुसार फिल्मको छायांकन तालिका पनि छिट्टै तय गरिनेछ। हाल कलाकार तथा प्राविधिक पक्षको छनोटको काम भइरहेको छ। निर्माण टिमले करिब एक महिनाअघि नै यो फिल्म आगामी दसैंमा प्रदर्शनमा ल्याउने घोषणा गरेको थियो। निर्देशक पन्तले फिल्म दसैंमै प्रदर्शन हुने बताए।
फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तकै रहनेछ। 'आबाट आमा २'को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।