चलचित्र विकास बोर्डले पछिल्ला रिलिज फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। फिल्म 'राम नाम सत्य', 'परालको आगो' र 'पहाड' को गत शनिबार (वैशाख १९) सम्मको बक्स अफिस विवरण सार्वजनिक गरिएको हो।
जसअनुसार फिल्म 'राम नाम सत्य' को कमाइ ३ करोड ३९ लाख ७३ हजार ४६६ रूपैयाँ पुगेको छ। यो फिल्मको १ लाख २० हजार ९२६ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
त्यस्तै, फिल्म 'परालको आगो' ले ३ करोड १२ लाख १७ हजार ९२ रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको १ लाख १० हजार ४४२ वटा टिकट बिक्री भएका छन्।
त्यसैगरी, फिल्म 'पहाड' को कमाइ ६३ लाख ९३ हजार १५२ रूपैयाँ पुगेको छ। उक्त कमाइ हुँदा यसको टिकट बिक्री संख्या २० हजार २६५ छ।
फिल्म 'राम नाम सत्य' चैत २७ गते रिलिज भएको थियो भने 'पहाड' वैशाख १ गतेदेखि प्रदर्शनमा आएको हो। त्यस्तै, 'परालको आगो' वैशाख ११ गते रिलिज भएको थियो।