धिरज मगर र मिरूना मगरको शीर्ष अभिनय रहेको फिल्म 'कुस्ती' को प्रदर्शन मिति घोषणा गरिएको छ।
अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार फिल्म आगामी असोज ९ गतेदेखि प्रदर्शन हुने भएको हो। काठमाडौं तथा आसपासका क्षेत्रमा छायांकन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिए।
उनले भने, 'हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौं। सोहीअनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौं।'
उनका अनुसार कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो। 'भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो,' योञ्जनले भने।
प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गरिरहेको जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने योञ्जनले बताए।
फिल्ममा धिरज र मिरूनासहित पुस्कर गुरूङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरूङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरूङ, सुवर्ण थापालगायत कलाकारहरूको अभिनय छ।
यस वर्षको ६१ औं 'मिस इन्डिया २०२६' मा ‘मिस मल्टिमिडिया’ को उपाधि जित्दै टप १५ मा पर्न सफल भएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली फिल्म हो। उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्, जसले उनको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव र सम्भावनालाई प्रारम्भमै देखाएको थियो। दिकिला एमटीभीको चर्चित भारतीय रियालिटी शो 'स्प्लिट्सभिल्ला' सिजन ५ बाट चिनिएकी हुन्।
उनले फिल्मको अन्तर्राष्ट्रिय वितरकबाट फिल्मको प्रदर्शन अधिकार खरिदका प्रस्तावहरू आइरहेको बताउँदै छिट्टै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए।
निर्देशक योञ्जनका अनुसार केही देशमा फिल्मको प्रदर्शन अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा छ।
फिल्ममा उमंग शाहीको छायांकन, मित्रदेव गुरूङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, रेनिश फागोको कलर करेक्सन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पाश्र्व सङ्गीत र शिशिर खातीको नृत्य निर्देशन रहेको छ। डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस डिजाइन आइआइएफटी (धीरज एण्ड मिरुना) ले गरेको हो।
काठमाडौंमा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछन्।