फिल्म 'महाराजधिराज'को मंगलबार बिहान शुभमुहूर्त गरिएको छ।
बंगलामुखी मन्दिरमा शंखध्वनि र पञ्चेबाजासहित पूजा आयोजना गर्दै गरिएको मुहूर्तमा फिल्मका निर्देशक, मुख्य कलाकारहरूसहित निर्माण टिमको उपस्थिति रह्यो। पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत कलाकारहरू मुहूर्तमा सहभागी थिए।
परिच्छेद सेनको निर्देशनमा बन्ने 'महाराजधिराज'को छायांकन यही शुक्रबार सुनसरीबाट सुरू हुनेछ। सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरू गरी एक हप्ता त्यहीँ खिचिनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा आकर्षक स्थानहरूमा करिब ७० दिन छायांकन गरिनेछ। फिल्मका छायांकार नवराज थापा रहेका छन्।
लामो समयदेखि स्क्रिप्टमा मेहनत गरिएको यस फिल्म सामाजिक परिवेशमा आधारित पिरियड ड्रामा भएको निर्देशक परिच्छेद सेनले बताएका छन्।
फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी., सुशील सिटौलालगायत कलाकारहरूको अभिनय रहनेछ।
साथै हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटालगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

करिब ८० जना कलाकार रहने यस फिल्ममा कमल गाउँले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारहरूले समेत अभिनय गर्नेछन्।
'महाराजधिराज'का प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार टोलीअनुसार नै उत्कृष्ट फिल्म निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ।
फिल्मको निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।
'महाराजधिराज' आगामी फूलपातीमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।