अभिनेता सलिनमान बानियाँ लामो समयपछि फिल्ममा फर्किएका छन्। उनले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनित फिल्म 'युनिभर्सिटी अफ गुन्डाज'को टिजर सार्वजनिक गरेका छन्।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक टिजर एक्सनप्रधान छ। १ मिनेट १२ सेकेन्डको टिजरमा सलिनमानको एक्सन दृश्य देख्न सकिन्छ। फिल्म 'यात्रा' पछि केही समय अभिनयबाट टाढा रहेका उनी यस फिल्ममार्फत कमब्याकको तयारीमा रहेको देखिन्छ। फिल्म 'यात्रा' २०७५ सालको चैतमा रिलिज भएको थियो।
सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको 'युनिभर्सिटी अफ गुन्डाज'मा सलिनमानले आफूलाई लभर ब्वाय इमेजबाट फरक ढंगले प्रस्तुत गरेका छन्। टिजरमा अभिनेता सलोन बस्नेत पनि एक्सन अवतारमा देखिएका छन्। दुवै कलाकार साथीको भूमिकामा देखिँदै आफ्नो ग्याङको लक्ष्य पूरा गर्न संघर्षरत रहेको झल्किन्छ।
सलिनमान बनियाँकै कथामा आधारित यस फिल्मको निर्देशन सुरेश न्यौपानेले गरेका हुन्। फिल्ममा सलिनमान र सलोनको मुख्य भूमिका रहेको छ। निर्माण पक्षले अन्य कलाकार तथा प्राविधिकबारे थप जानकारी सार्वजनिक गरेको छैन भने प्रदर्शन मिति पनि घोषणा गरिएको छैन।
फिल्मको ब्याकग्राउन्ड स्कोर रोमन बज्राचार्यले गरेका छन्। मेकअप मनोज लामाले सम्हालेका छन् भने प्रोडक्सन म्यानेजर सुवास काफ्ले र सहायक प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत हुन्।
साउन्ड डिजाइन मुकेश शाहले गरेका छन् भने भिएफएक्स मनोज श्रेष्ठले तयार पारिरहेका छन्। सम्पादन तथा ट्रेलर बन्दे प्रसादले गरेका छन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्। फिल्मको स्क्रिनप्ले मन्दीप गौतमले लेखेका हुन् भने छायांकन सौरभ लामाले गरेका छन्।
यस्तो छ पहिलो झलकः