फिल्म 'आबाट आमा २' मा अभिनेता सबिन श्रेष्ठ अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा उनी एक प्रमुख भूमिकामा अनुबन्ध भएका हुन्।
यो फिल्ममा यसअघि नै पल शाह, विपना थापा र आकाश श्रेष्ठलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन्। साथै, फिल्मको शुभमुहूर्त पनि सम्पन्न भइसकेको छ।
गत वर्ष प्रदर्शनमा आएको 'आबाट आमा' सुपरहिट भएपछि यसको सिक्वेल ‘आबाट आमा २’ निर्माण गर्न लागिएको हो। 'आबाट आमा' ले घरेलु बक्स अफिसमा १३ करोड रूपैयाँभन्दा माथि कमाइ गरेको थियो।
'आबाट आमा २' मा पल शाह, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित बिष्ट, नरेन खड्कालगायत कलाकारहरूको अभिनय रहनेछ। यद्यपि, मुख्य अभिनेत्रीको नाम भने निर्माण पक्षले हालसम्म सार्वजनिक गरेको छैन।
फिल्मको छायांकन केही दिनभित्रै सुरू गर्ने तयारी छ। प्रदर्शन आगामी दसैंमा हुने घोषणा भइसकेको छ।
फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंको रहनेछ। चित्लाङ, काठमाडौं, युकेमा छायांकन हुने तयारी छ।
'आर्या इन्टरटेनमेन्ट प्रालि'को ब्यानरमा निर्माण हुने यस फिल्मको वितरण 'आरआर फिल्म्स'ले गर्नेछ भने डिजिटल अधिकार 'ओएसआर'ले लिएको छ।