सुपरहिट एक्सन फिल्म '१२ गाउँ'को सिक्वेल '१२ गाउँ २'को छायांकन सुरू गरिएको छ। विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको बुधबार काठमाडौंमा शुभमुहूर्तसँगै छायांकन थालिएको हो।
फिल्ममा निर्देशक भट्ट स्वयंका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ।
निर्माण पक्षका अनुसार सुरूमा फिल्मको गीत खिचिनेछ। फिल्मको छायांकन काठमाडौंसहित सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा गरिनेछ।
दसैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति घोषणा गरिएको छ।
प्राविधिक पक्षतर्फ, डीओपीको रूपमा महेश पौडेल रहेका छन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्। द्वन्द्व निर्देशनमा स्टन्ट सिल्भा र शंकर महर्जनको रहनेछ।
त्यसैगरी, फिल्मको ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन् भने संगीतकारका रूपमा युग भुसाल, देबेन्द्र बराल र डीपी खनाल रहेका छन्। गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ।
निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन्। वितरणतर्फ उपत्यकामा काफिया फिल्म्स प्रालि र उपत्यका बाहिर कुबेर फिल्म्सले जिम्मेवारी लिएका छन्।