उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै 'लालीबजार' सिनेमा प्रदर्शन गर्ने बाटो खुलेको छ।
बुधबार न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
वैशाख १५ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त सिनेमा तत्काललाई प्रदर्शन नगर्न आदेश दिएको थियो। उक्त आदेशलाई अब निरन्तरता दिइरहन नपर्ने आदेश दिएको छ।
'...उल्लिखित निर्णयमा उल्लेख भएको व्यहोरा र नियमन गर्ने निकायबाट नियमन गर्न सक्ने कानूनी व्यवस्था रही रहेको सन्दर्भमा रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुनसक्ने अवस्था देखिएकोले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,' आदेशमा भनिएको छ।
अदालतले चलचित्र ऐन २०२६ को दफा ८ को उपदफा ३ बमोजिमको आवश्यक परे काटछाट गर्न सक्ने व्यवस्था रहेको पनि बताएको छ।
त्यस सन्दर्भलाई लिएर उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
षट्कोण आर्ट्सको प्रस्तुति तथा यम थापा निर्देशित 'लालीबजार' वैशाख १८ गतेदेखि प्रदर्शन तयारीमा थियो।