फिल्म 'लालीबजार' यही शुक्रबारदेखि प्रदर्शन हुने भएको छ।
फिल्म वैशाख २५ गते रिलिज हुने भएको निर्देशक यम थापाले जानकारी दिए।
उच्च अदालत पाटनले फिल्म प्रदर्शनको बाटो खुला गरिदिएसँगै 'लालीबजार' रिलिज हुन लागेको हो।
बुधबार न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै फिल्म रिलिज हुन लागेको हो।
वैशाख १५ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त सिनेमा तत्काललाई प्रदर्शन नगर्न आदेश दिएको थियो। उक्त आदेशलाई अब निरन्तरता दिइरहन नपर्ने आदेश दिएको छ।
षट्कोण आट्र्सको प्रस्तुति तथा यम थापा निर्देशित 'लालीबजार' यसअघि वैशाख १८ गतेदेखि प्रदर्शन तयारीमा थियो।
'लालीबजार' मा स्वस्तिमा खड्का, विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ।
फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउने भएसँगै सिनेमा हलहरूले अग्रिम टिकट बिक्री पनि सुरू गरेका छन्।