फिल्म 'रोल नं १'को गीत 'म्याग्दी रूमाले' सार्वजनिक भएको छ।
निर्माण पक्षले फिल्ममा समावेश लोकलयको गीत युट्युबमा सार्वजनिक गरेको हो। गीतले ग्रामीण परिवेश, लोकसंस्कृति र युवापुस्ताको उत्साहलाई प्रस्तुत गरेको छ।
स्वर प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको छ। सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको हो। प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले सहयोग गरेका छन्।
गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ।
भिडिओमा विनोद न्यौपाने र जुना विश्वकर्मासहित मुकुन भुसाल र रेणु योगीलगायतको अभिनय छ। भिडिओको कोरियोग्राफर मौसम हिमाली हुन्।
विनोद पौडेलको निर्माण रहेको फिल्म 'रोल नं १' जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। जोन योञ्जनको निर्देशनमा तयार फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा फिल्ममा समेटिएको निर्माण पक्षले बताएको छ।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। फिल्मलाई महेश दवाडीले लेखेका हुन्। डीओपी शिवराम श्रेष्ठको छ भने फिल्मकासम्पादक मदन घिमिरे हुन्।
निर्माता पौडेलका अनुसार 'रोल नं. १' नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ।
सार्वजनिक 'म्याग्दी रूमाले' गीतले यतिबेला राम्रो प्रतिक्रिया पाइरहेको छ।