संगीतमय लघु फिल्म 'झ्यालः द विन्डो बिट्विन अस' सार्वजनिक गरिएको छ। आर्ट घरको ब्यानरमा निर्माण गरिएको यो म्युजिकल फिल्म कोभिड–१९ महामारीका बेला लागू गरिएको पहिलो लकडाउनको पृष्ठभूमिमा आधारित छ।
८ मिनेट ५६ सेकेन्ड लामो यो पोएटिक ड्रामा शैलीको फिल्मले लकडाउनका कारण सिर्जित एकान्त, दूरी र मौन सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्छ।
भीष्म जोशीको लेखन तथा निर्देशन रहेको फिल्मको कथामा ३८ वर्षीया शिक्षिका ऋतु आफ्नै घरभित्र एक्लोपनसँग संघर्ष गरिरहेकी हुन्छिन्। अनलाइन कक्षा, स्वेटर बुन्ने दिनचर्या र सहरबाहिर अड्किएका श्रीमानको प्रतीक्षाबीच उनको जीवन निस्तेज बन्दै गएको देखाइन्छ। यही क्रममा उनले आफ्नै घरअगाडिको भवनमा बस्ने संघर्षरत युवा अभिनेता मौसमलाई देख्न थाल्छिन्, जो आफैं पनि अनिश्चितता र एकान्तसँग जुधिरहेको हुन्छ।
झ्यालमार्फत आदान–प्रदान हुने नजर र साना संकेतहरूले उनीहरूबीच मौन तर गहिरो आत्मीयता विकास हुँदै जान्छ। तर लकडाउन खुलेसँगै ऋतुका श्रीमान फर्किएपछि उनीहरूको सम्बन्ध सम्झनामै सीमित हुन पुग्छ।
फिल्मले 'झ्याल'लाई केवल भौतिक संरचनाका रूपमा नभई मानिसहरूबीचको दूरी, चाहना र अपूरा सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
निर्देशक जोशीका अनुसार फिल्मले महामारीलाई केवल त्रासदीका रूपमा नभई मानिसहरूले आफ्ना भावना र सम्बन्ध पुनः खोज्ने संवेदनशील समयका रूपमा चित्रण गर्ने प्रयास गरेको छ।
फिल्ममा उषा रजक, अभिषेक फुयाँल तथा स्वयं निर्देशक भीष्म जोशीको अभिनय रहेको छ। नारायण जिसीको छायांकन रहेको फिल्ममा बिकेन कार्कीको सम्पादन छ।
फिल्मलाई संगीतमय स्वरूप दिइएको छ। गीतका शब्द निर्देशक जोशीकै हुन् भने संगीत सुविन सेन्चुरीले तयार पारेका छन्। समीक्षा दाहाल र प्रताप दासको स्वर रहेको गीतले फिल्मको भावनात्मक पक्षलाई थप सशक्त बनाएको निर्माण टिमले जनाएको छ।
आर्ट घरले यसअघि 'कोठा' र 'समय र उमेर' जस्ता संगीतमय लघु फिल्म सार्वजनिक गरिसकेको छ।