काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किम्फ)सँगको सहकार्यमा सुरु गरिएको 'सर्ट फिल्म डेभलपमेन्ट ल्याब'मा यस वर्षका लागि ६ वटा फिल्म परियोजना छनोट भएका छन्।
ल्याबमा काख, अम्ब्रेला ओभर द ल्याम्ब, ह्वेयर आइ स्ट्याण्ड, फोर गेस्ट ओन्ली, पारिजात र उल्टो आकाश छनोट भएका हुन्।
निर्माणाधीन लघु फिल्महरूलाई विकास गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको यो ल्याबले सहभागीलाई मेन्टरसिप, पिचिङ प्लेटफर्म तथा फिल्म निर्माणसम्बन्धी व्यावसायिक ज्ञान प्रदान गर्नेछ। नयाँ निर्देशक र निर्माताका लागि लक्षित यस कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मीहरूले मार्गदर्शन गर्नेछन्।
यस ल्याबमार्फत सहभागीहरूले स्क्रिप्ट लेखन, वितरण रणनीति तथा अन्तर्राष्ट्रिय बजारमा पहुँचबारे समेत ज्ञान हासिल गर्ने बताइएको छ।
'ल्याबमा सहभागी फिल्मकर्मीले किम्फ चलचित्र महोत्सवमा इन्डस्ट्रि पिच सेसनमा प्रस्तुत गर्नेछन्,' चलचित्र ल्याबका संस्थापक प्रविण कुमार रावतले भने। प्रविणका अनुसार किम्फको अन्तिम दिन यस ल्याबका विजेताहरूको घोषणा गरिनेछ, जहाँ ३, २ र १ लाख गरि तीन प्रोडक्सन ग्रान्ट साथै फिल्म निर्माण गर्न क्यामेरा, पोस्ट प्रोडक्सन अनि लाइट्स र ग्रीपको सहयोग को लागि तीन 'इन काइन्ड इन्भेस्टमेन्ट अवार्ड' पाउनेछन्।
ल्याबका लागि ३२ फिल्म आवेदनमा परेका थिए। भारत, पाकिस्तान, बंगलादेशदेखि इन्डोनेसियाका देशहरुले पनि ल्याबमा जोडिने प्रयास गरेका थिए। ल्याबका अर्का संस्थापक सुशान्त श्रेष्ठका अनुसार प्रारम्भमा १५ परियोजना छनोट गरिएको थियो, जसबाट छनोट समितिले १० उत्कृष्ट परियोजना चयन गरेको थियो। अन्तिम चरणको अन्तर्वार्तापछि ६ परियोजना अन्तिम रूपमा चयन गरिएको हो।
५ दिनसम्म संचालन हुने यो ल्याब जेठ ७ देखि ११ गतेसम्म आयोजना हुनेछ। विजेता घोषणा भने जेठ १७ मा गरिनेछ।
यस वर्षको ल्याबका मेन्टरहरूमा बंगलादेशका तन्वीर हुसेन, दक्षिण कोरियाका जेम्स ब्याङ्ग, नेपालबाट फिल्मकर्मी केशव पाण्डे, निर्देशक सुजित बिडारी, फिल्म सम्पादक निमेष श्रेष्ठ र युकेबाट अजय राई रहेका छन्।