फिल्म 'जीवनरेखा' को नारायणघाटस्थित जलमा हलमा विशेष प्रदर्शन गरिएको छ।
४३ वर्षअघि निर्माण भएको उक्त फिल्म शिव श्रेष्ठ फाउन्डेशनको आयोजना, चलचित्र विकास बोर्डको सहकार्य र लायन्स क्लब चितवनको व्यवस्थापनमा प्रदर्शन गरिएको हो। यसका लागि डिजिटल सिनेमा नेपाल (डीसीएन)को पनि सहयोग रहेको थियो।
निर्देशक प्रकाश थापाद्वारा निर्देशित 'जीवनरेखा' को प्रदर्शनसँगै चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरू गर्ने तयारी गरेको जनाएको छ।
नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यसहित बोर्डले शिव श्रेष्ठ फाउन्डेशनसँगको सहकार्यमा अभियानको नमुना परीक्षण गरेको हो।
बोर्डका अनुसार अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली फिल्महरू हरेक हप्ता विशेष प्रदर्शन गरिनेछ। बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड फिल्म डिजिटाइज गरिसकेको छ भने अभिलेखीय, ऐतिहासिक तथा तथा साहित्यिक महत्वका कृतिमा आधारित थप १० फिल्म डिजिटाइज गर्ने तयारी भइरहेको छ।
पुराना चलचित्रलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुनः पुर्याउने उद्देश्य अभियानको मुख्य लक्ष्य रहेको बोर्डले उल्लेख गरेको छ। पुरानो पुस्ताले सम्झनामा राखेका चलचित्र नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
विशेष प्रदर्शन कार्यक्रममा अभिनेता तथा निर्देशक नीर शाह, बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, अभिनेता शिव श्रेष्ठ, पूर्व बोर्ड सदस्य एवं चलचित्रकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ, चलचित्रकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र कलाकार दीपक अधिकारीलगायतको उल्लेख्य उपस्थिति थियो।
फिल्म 'जीवन रेखा'मा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुषाल, गोपालराज मैनाली, हरिवंश आचार्यलगायत कलाकारहरूको अभिनय छ।

