गत वर्षको सुपरहिट फिल्म 'परान' का निर्देशक दीपकप्रसाद आचार्य नयाँ फिल्म 'चिरञ्जीवी भव:' लिएर आउने भएका छन्।
सोमबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको शुभमुहूर्त निर्देशकसहित प्रमुख कलाकारहरूको उपस्थितिमा गरिएको थियो।
शुभमुहूर्तका अवसरमा अभिनेता हरिवंश आचार्यले पहिलो सट दिएका थिए। निर्माणपक्षका अनुसार हरिवंशले दिएको पहिलो सटले फिल्मको शीर्षक 'चिरञ्जीवी भव:' किन राखिएको हो भन्ने संकेतसमेत गर्छ।
शुभमुहूर्तमा हरिवंशसँगै प्रियंका कार्की, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारहरूको उपस्थिति रहेको थियो।
निर्माण टिमका अनुसार फिल्म जेठ १५ बाट छायांकनमा जानेछ। शिवराम श्रेष्ठले खिच्ने फिल्मको छायांकन तालिका ४५ दिनतय गरिएको छ। फिल्म धनकुटा, सुनसरी र काठमाडौंमा खिचिनेछ।
'परान'बाट ठूलो सफलता हासिल गरेका निर्देशक दीपकप्रसाद आचार्यले यसपटक पनि पारिवारिक र सामाजिक कथावस्तुमा आधारित फिल्म दर्शकमाझ ल्याउन लागेका हुन्। फिल्ममा कुमार कट्टेल 'जिग्री ब्रो' पनि सहकार्यमा छन्। कुमार कट्टेलको कथामा निर्माण हुन लागेको फिल्मको कथा लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन्।
सोसल ड्रामा जनरामा निर्माण हुने 'चिरञ्जीवी भव:' ले दुई पुस्ताबीचको वैचारिक भिन्नता, सम्बन्ध र भावनात्मक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाउने निर्माणपक्षले जनाएको छ।
फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी, हरिश निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरलगायत कलाकारहरू मुख्य भूमिकामा रहनेछन्।
उमेशकुमार बराल निर्माता रहेको फिल्मको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री रहेका छन्।
'चिरञ्जीवी भव:' माघ १ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ।

