फिल्म 'रोल नं १' ले विशेष प्रदर्शनमा प्रशंसा पाएको छ।
निर्माण टिमले सोमबार काठमाडौंमा आयोजना गरेको विशेष प्रदर्शनमा सेलिब्रेटीहरूले फिल्मको विषयवस्तु र प्रस्तुतिको तारिफ गरेका हुन्।
विशेष प्रदर्शनमा फिल्मकर्मी, हास्य कलाकार, संगीतकर्मी तथा राजनीतिज्ञहरू सहभागी थिए। फिल्म हेर्नेहरूले यो अभिभावकले हेर्नुपर्ने सिनेमा भएको बताए।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको विशेष प्रदर्शनमा निर्देशक तुलसी घिमिरे, कलाकार जितु नेपाल, कमलमणी नेपाल, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, अभिनेत्रीहरू अञ्जना बराइली, निता ढुंगाना, सञ्चिता लुइँटेल, गरिमा शर्मा, लुनिमा तुलाधर, सरिता गिरी, 'कमेडी च्याम्पियन' का निर्देशक विशाल भण्डारी, हास्य कलाकार भरतमणी पौडेल, मेक्सम गौडेल, अभिनेता हरिहर अधिकारी, पूर्वमन्त्री तथा राष्ट्रिय सभा सदस्य सुनिल बहादुर थापा, एन-प्याब्सनका महासचिव आरबी कटुवाललगायतको उपस्थिति थियो।
फिल्म हेरेपछि अभिनेता जितु नेपालले संवाद र सन्देशको प्रशंसा गरे। उनले भने, 'हामीले बच्चालाई केवल कक्षाकोठाको नम्बरमा सीमित गर्यौं, तर यो फिल्मले जीवनको वास्तविक नम्बर त्यसले निर्धारण गर्दैन भन्ने सन्देश दिएको छ। शिक्षालाई सीपसँग जोड्नुपर्ने आवश्यकतालाई यसले सशक्त रूपमा उठाएको छ।'
मरिचमान श्रेष्ठ 'बल्छी धुर्बे' ले फिल्मलाई ‘किताब’ जस्तो भन्दै दुर्गम क्षेत्रको शिक्षा र बुबाको संघर्षको कथाले आफूलाई छोएको बताए।
अभिनेत्री लुनिमा तुलाधरले फिल्म अभिभावकका लागि विशेष रूपमा हेर्नुपर्ने बताइन्। उनले भनिन्, ‘'बालबालिकाको रूचि बुझेर मात्र सही दिशा दिन सकिन्छ भन्ने सन्देश यसले दिएको छ।'
सञ्चिता लुइँटेलले लेखन र प्रस्तुतिलाई मर्मस्पर्शी भन्दै शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नगरी सीपसँग जोड्ने सन्देश प्रभावकारी भएको बताइन्।
'आजको पुस्ताका बालबालिका र उनीहरूका अभिभावकले एकपटक यो फिल्म हेरेर धेरै कुरा सिक्न सक्छन्। फिल्मका संवाद र भावनाहरू निकै मर्मस्पर्शी छन्,' उनले भनिन्।
अभिनेता हरिहर अधिकारीले फिल्मले आफूलाई स्कुल जीवन र परीक्षाको डरको सम्झना दिलाएको उल्लेख गर्दै यसलाई भावनात्मक रूपमा प्रभावकारी रहेको बताए।
अभिनेत्री निता ढुंगानाले बालबालिकामाथिको शैक्षिक दबाबलाई फिल्मले यथार्थ रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिइन्।
विशेष प्रदर्शनीमा सहभागीहरूले फिल्मलाई शैक्षिक चेतना फैलाउने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।
जोन योञ्जन निर्देशित 'रोल नं. १' मा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारीलगायत मुख्य भूमिकामा छन्। बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मका सह–निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन्। महेश दवाडीले लेखेको फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्।
'रोल नं. १' गत शुक्रबारदेखि देशभर प्रदर्शनरत छ।