बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ फिल्महरूको प्रदर्शन कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरू भएको छ।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रवद्र्धन कार्यक्रम 'टियानतान अवार्ड प्यानोरामा' अन्तर्गत आयोजित कार्यक्रम सागर झान निर्देशित चलचित्र 'ट्रयाप्ड' प्रदर्शनसँगै सुरू भएको हो।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम गरेको हो।
ठमेलस्थित छायाँ सेन्टरमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान प्रमुख अतिथि थिए।
कार्यक्रममा नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरूण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, अभिनेता प्रमोद अग्रहरीलगायत अन्य चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य राख्दै यस प्रकारका कार्यक्रमले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास राखे। उनले चिनियाँ बजारमा नेपाली चलचित्रको वितरण र प्रदर्शनका लागि समेत यस्ता पहल उपयोगी हुने अपेक्षा व्यक्त गरे।
मिनिस्टर काउन्सिलर पानले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाज, राजनीति र संस्कृतिलाई बुझ्ने महत्वपूर्ण माध्यम भएको बताए।
उनले भने, 'चलचित्रले दुई देशका नागरिकलाई एकअर्काको समाज र संस्कृतिसँग परिचित गराउँछ। यसले आपसी सम्बन्धलाई अझ निकट बनाउँछ। यस्ता कार्यक्रमको उद्देश्य पनि यही हो।'
उनले यस्ता गतिविधिले दुई देशका चलचित्रकर्मीबीच व्यावसायिक सहकार्यको अवसरसमेत सिर्जना गर्ने धारणा राखे।
वरिष्ठ निर्देशक घिमिरेले चिनियाँ बजारमा नेपाली चलचित्रको प्रदर्शन र वितरणका लागि थप सहयोग तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे।
'ट्रयाप्ड' प्रदर्शनपछि निर्देशक झानसँग दर्शक तथा सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। निर्देशक झानले आफ्नो किशोर अवस्थाको कालखण्डमा आफूले देखेको र सम्झना रहेको परिदृश्यलाई उतार्न यो फिल्म बनाएको बताए।
उनले भने, 'त्यो समयमा मैले देखेको र सम्झना भएको विषयहरूलाई फिल्ममा उतारेको छु। तथापि, यो फिल्मको कथा पूर्ण काल्पनिक हो।'
एक दर्शकले नेपाली चलचित्र बजारमा ग्रामीण कथावस्तुले प्राथमिकता पाइरहेका बेला क्राइम थ्रिलर शैलीको कथा रोज्नुको कारणबारे प्रश्न गरेका थिए।
जवाफमा निर्देशक झानले भने, 'नेपाली चलचित्रकर्मीहरूमध्ये मेरा साथीहरू पनि छन्। नेपाली दर्शकले रूचाउने चलचित्रका शैलीबारे म केही हदसम्म जानकार छु। त्यसैले यो नेपाली दर्शकका लागि बिल्कुलै फरक स्वादको चलचित्र होइन।'
एक चिनियाँ दर्शकले आफ्नो भाषाको फिल्म विदेशमा हेर्न पाएकामा खुसी व्यक्ति गरिन्। आयोजकका अनुसार फिल्मले नेपाली दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ।
काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको यस कार्यक्रम ठमेलस्थित छायाँ सेन्टरमा बिहीबारसम्म जारी रहनेछ।
कार्यक्रमको पहिलो दिन अन्य दुई फिल्म 'बियोन्ड द स्काइज' र 'समर डायरी' पनि प्रदर्शन गरिएको थियो।


