फिल्म 'मालती मंगले'को विश्वव्यापी प्रदर्शन अभियानको लागि यसका निर्माता तथा गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्।
फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा स्वयं सहभागी हुने उद्देश्यले उनी पहिलो चरणको भ्रमणका लागि अमेरिका गएका हुन्।
पहिलो चरणअन्तर्गत रामकृष्णले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन्। त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले बताएका छन्।
विश्वव्यापी प्रदर्शन अभियानअन्तर्गत फिल्मको विशेष प्रदर्शनसँगै दर्शकहरूसँग 'मिट एन्ड ग्रिट' कार्यक्रम तथा गायक रामकृष्णको सांगीतिक प्रस्तुति समेत आयोजना हुनेछ।
सार्वजनिक गरिएको प्रदर्शन तालिकाअनुसार जुन ५ (जेठ २२) मा अमेरिकाको बोस्टन र जुन ६ (जेठ २३)मा न्यु ह्याम्पसायरमा फिल्म प्रदर्शन तथा सांगीतिक कार्यक्रम हुनेछ। त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टोमा फिल्म प्रदर्शन गरिनेछ। यसैगरी, जुलाई ४ मा अस्ट्रेलियाको सिड्नीमा फिल्मको 'रेड कार्पेट प्रिमियर' भव्य रूपमा आयोजना हुने जनाइएको छ। अस्ट्रेलियाका अन्य सहरहरूमा पनि प्रदर्शनलाई निरन्तरता दिने टिमको योजना छ। साथै, युरोपका विभिन्न मुलुकहरूमा समेत फिल्म प्रदर्शन हुने जनाइएको छ।
फिल्म 'मालती मंगले' नेपालमा बैशाख २५ गते रिलिज भएको थियो। यसले बक्स अफिसमा सुखद् व्यापार भने गर्न सकेन्। जेठ १६ गतेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ५१ लाख ७३ हजार ७९३ रूपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डले जनाएको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको 'मालती मंगले'लाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारहरूको अभिनय छ।
फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका हुन्।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरूङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह–निर्माताका रूपमा लगानी गरेका छन्।
महेश पौडेलको छायांकन रहेको फिल्ममा सम्पादन रोमी मोजेजको छ।