चर्चित लोकदोहोरी गायक पशुपति शर्माले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्।
रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममार्फत उनले अभिनय यात्रा सुरू गर्न लागेका हुन्।
निर्माण पक्षले फिल्मको नाम भने हालसम्म खुलाएको छैन। फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् भने निर्माता रघुनाथ सापकोटा रहेका छन्। उनीहरूले हालै गायक पशुपतिलाई फिल्ममा अनुबन्ध गरेका हुन्।
फिल्म असारको दोस्रो सातादेखि छायांकनमा जाने तयारी रहेको बताइएको छ।
समसामयिक सामाजिक, राजनीतिक तथा मायाप्रेमका विषयवस्तुलाई आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्दै आएका पशुपति शर्मा नेपाली संगीत क्षेत्रमा फरक पहिचान बनाएका सर्जकका रूपमा परिचित छन्। लोकदोहोरी गायनमार्फत उनले देश-विदेशमा ठूलो दर्शक-स्रोता वर्ग निर्माण गरेका छन्।
अब भने उनी पहिलोपटक मुख्य भूमिकामा अभिनय गर्दै फिल्म क्षेत्रमा प्रवेश गर्न लागेका हुन्।
फिल्मबारे कुरा गर्दै पशुपतिले सुरूमा अभिनय प्रस्ताव स्वीकार गर्न हिच्किचाएको भए पनि कथा र निर्माण टिमसँगको छलफलपछि आफू सहमत भएको बताए।
'यो कमेडी शैलीको फिल्म हो। सुरूमा नाइँ-नाइँ भनेको थिएँ, तर कथा र टिमसँग कुरा गरेपछि चित्त बुझ्यो। गायनपछि अभिनयको यो अनुभव मेरा लागि फरक र नयाँ हुनेछ,' पशुपति शर्माले भने।

पशुपतिले यसअघि 'प्रेमगीत' र 'ब्रासलेट' फिल्मका लागि गीत गाइसकेका छन्। तर कलाकारका रूपमा भने यो उनको पहिलो फिल्म हुनेछ।
फिल्मका अन्य कलाकार तथा प्राविधिक टिमबारे भने निर्माण पक्षले औपचारिक रूपमा जानकारी सार्वजनिक गरिसकेको छैन।
'असार पहिलो हप्ता पोस्टर ल्याउँदै फिल्म र बाँकी कलाकारबारे जानकारी दिनेछौं,' निर्माता सापकोटाले भने।