चलचित्र 'ऊनको स्वीटर' ले तीन विधामा राष्ट्रिय चलचित्र पुरस्कार जितेको छ। 'राष्ट्रिय चलचित्र पुरस्कार २०८२' मा यसले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री गरी तीन विधामा पुरस्कार जितेको हो।
योसँगै नवीन चौहान पहिलो निर्देशकीय चलचित्रबाटै उत्कृष्ट निर्देशक घोषित भएका छन्। पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशकको पुरस्कार पाएपछि निर्देशक चौहानले आफ्नो खुसी साझा गरेका छन्।
शुक्रबार पुरस्कार ग्रहणपश्चात सामाजिक सञ्जालमा पोस्ट लेख्दै चौहानले पाँचथरको सत्तेरूपा गाउँमा कलिला आँखाले देखेको 'सिनेमा बनाउने सपना' आज यथार्थमा परिणत भएको उल्लेख गरेका छन्।
उनी लेख्छन्, 'आज फर्केर हेर्दा लाग्छ, सपनाहरू साँच्चै पूरा हुँदा रहेछन्। ‘ऊनको स्वीटर’ले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट चलचित्र, मैले सर्वोत्कृष्ट निर्देशक र हाम्रो प्रिय फूल मिरूना मगरले सर्वोत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरेका छौं।'
नवीनले पहिलो चलचित्रमै यस्तो सम्मान प्राप्त होला भन्ने कल्पना कहिल्यै नगरेको बताएका छन्। अगाडि लेखेका छन्, 'हामीले त केवल मनले छोएको एउटा कथा इमान्दारीपूर्वक सुनाउने प्रयास गरेका थियौं। तर दर्शकहरूले त्यसलाई आफ्नो कथा बनाइदिनुभयो।'
उनले यो सम्मान कुनै एक व्यक्तिको नभई आफूले सपना देख्न सिकेको गाउँ, विश्वास गरिरहने परिवार, कठिन यात्रामा साथ दिने सम्पूर्ण टिम र फिल्मलाई आफ्नो कथा बनाइदिने दर्शकहरूको साझा उपलब्धि भएको उल्लेख गरेका छन्।
पोस्टमा उनले लेखेका छन्, 'सपनाहरू देखिरहनुहोस्। कहिलेकाहीँ जीवनले तिनलाई कल्पना गरेभन्दा धेरै सुन्दर ढंगले पूरा गरिदिन्छ।'
वि.स. २०८२ वैशाखमा रिलिज 'ऊनको स्वीटर' मा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्। फिल्मले घरेलु बक्सअफिसमा ११ करोड रूपैयाँमाथिको व्यापार गरेको थियो भने दर्शकबाट पनि अत्यन्तै राम्रो प्रतिक्रिया पाएको थियो।
'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र, नीर शाह र मिरूना मगर उत्कृष्ट अभिनेता-अभिनेत्री