फिल्म 'पाँच पाण्डव' पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ। सूचना तथा संचार मन्त्रालयमा छलफलपछि फिल्म शुक्रबारदेखि नै प्रदर्शन हुने टुंगो लागेको हो।
मन्त्रालयमा बिहीबार बिहान भएको छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फिल्मकर्मीको प्रदर्शन अधिकारमा हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाएको चलचित्र जाँच पास समितिका सदस्य मनोज पण्डितले जानकारी दिए।
फिल्म रोक्नुपर्ने मागसहित विभिन्न समूहबाट दबाब आएपछि मन्त्रालयले निर्माण टिमलाई छलफलका लागि बोलाएको थियो।
उक्त छलफलमा चलचित्र जाँच पास समितिले प्रदर्शन अनुमति दिइसकेको फिल्मलाई रोक्न नमिल्ने र समितिको निर्णयको आधिकारिकता कायम राख्नुपर्ने अडान आफूहरूले राखेको पण्डितले बताए।
'स्रष्टा र फिल्मकर्मीले चलचित्र बनाइसकेपछि त्यसलाई प्रदर्शन गर्ने अधिकार रक्षा गर्नु सरकारको दायित्व हो,' उनले सेतोपाटीसँग भने, 'सञ्चारमन्त्रीले पनि फिल्म प्रदर्शन गर्ने अधिकारमा कुनै पनि किसिमको हस्तक्षेप हुन दिँदैनौं भन्ने धारणा राख्नुभयो।'
उनका अनुसार छलफलमा चलचित्र जाँच पास समितिको निर्णयको विश्वसनीयता र आधिकारिकता जोगाउनुपर्ने विषयमा पनि जोड दिइएको थियो।
समितिले फिल्मको विषयवस्तु र संवेदनशीलताको मूल्यांकन गरेर प्रदर्शन अनुमति दिने भएकाले त्यसको निर्णयलाई सम्मान गर्नुपर्ने विषयमा मन्त्रालयका अधिकारीहरू पनि सहमत भएका थिए।
पण्डितले भने, 'चलचित्र जाँच पास समितिले चलचित्र हेरेर त्यसको संवेदनशीलताको मूल्यांकन गरेपछि प्रदर्शन अनुमति दिने हो। त्यसैले समितिको निर्णयको आधिकारिकता र विश्वसनीयता जोगाउनुपर्छ भन्ने विषयमा पनि सचिवज्यू एकमत हुनुभयो। चलचित्र जाँच पास समितिको निर्णयलाई नै प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा हामीले स्पष्ट रूपमा राख्यौं।'
उठ्यो संवेदनशीलता अपनाउनुपर्ने विषय
छलफलमा धार्मिक तथा सांस्कृतिक विषयमा फिल्म निर्माण गर्दा मात्र नभई त्यसको प्रचारप्रसार गर्दा पनि संवेदनशीलता अपनाउनुपर्ने विषय उठेको थियो।
फिल्मको नाम महाभारतका पाँच पाण्डवसँग जोडिएको, सार्वजनिक गीतका केही दृश्य तथा द्रौपदी पात्रलाई प्रस्तुत गरिएको शैलीलाई लिएर हिन्दु धर्मको अपमान भएको भन्दै विरोध भएको थियो।
निर्माण टिमले भने फिल्म 'पाँच पाण्डव'को नाम महाभारतका पाँच पाण्डव पात्रसँग जोडिए पनि यसको कथा महाभारतमा आधारित नरहेको बताउँदै आएको छ।
धार्मिक विषयमा आधारित फिल्म समाज र संस्कृतिसँग प्रत्यक्ष जोडिने भएकाले त्यसको प्रचारप्रसार भाइरल बनाउने वा व्यावसायिक लाभ लिने उद्देश्यले मात्र गर्न नहुने निष्कर्ष निस्किएको पण्डितले बताए।
उनका अनुसार फिल्मकर्मीले फिल्मको विषयवस्तुको महत्व, त्यसले समाजमा पार्न सक्ने प्रभाव र धार्मिक संवेदनशीलतालाई बुझेर प्रचार सामग्री तयार गर्नुपर्ने विषयमा छलफल भएको थियो।
उनले 'पाँच पाण्डव'को प्रचारप्रसारमा अपनाइएको शैली पनि विवादको एउटा कारण बनेको छलफलको निष्कर्ष रहेको बताए।
पण्डितले यस घटनाले फिल्मकर्मीको प्रदर्शन अधिकार संरक्षण र चलचित्र जाँच पास समितिको निर्णयको आधिकारिकता कायम गर्ने विषयमा राम्रो नजिर स्थापित गर्ने विश्वास व्यक्त गरे। साथै, धार्मिक तथा सांस्कृतिक विषयमा फिल्म निर्माण र प्रचारप्रसार गर्दा संवेदनशीलता अपनाउनुपर्ने पाठसमेत यस घटनाले सिकाएको उनको भनाइ छ।
यसैबीच, निर्माण टिमले पनि फिल्म पूर्वनिर्धारित मिति कार्तिक २० गतेदेखि नै देशभरका हलमा प्रदर्शन हुने जनाएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामी सबै धर्मप्रति उच्च सम्मान राख्दछौं। यस फिल्मले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य राखेको छैन। हामी सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दछौं।'
‘पाँच पाण्डव’मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, ईभा गिरी, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ।
वसन्त निरौला निर्देशित ‘पाँच पाण्डव’को निर्माता काली रानी श्रेष्ठ हुन् भने कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्।
चलचित्र जाँच पास समितिले यसलाई बुधबार बिहान युनिभर्सल सर्टिफिकेटसहित प्रदर्शन अनुमति दिएको थियो।