निर्माणाधिन फिल्म 'सिन्दुरे जात्रा'ले प्रदर्शन मिति तय गरेको छ।
छायांकनको चरणमा रहेको यो फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको निर्देशक सरोज पौडेलले बताए।
'वितरकसँग सल्लाह गरेर सबै पक्षलाई उपयुक्त हुने समय छनोट गर्दै मंसिर ४ गते प्रदर्शन गर्ने निर्णयमा पुगेका हौँ,' निर्देशक पौडेलले भने, ‘यस मितिमा दर्शक र फिल्म क्षेत्रका सबै पक्षबाट सहयोग प्राप्त हुने अपेक्षा गरेका छौँ।'
हतारमा आउनुभन्दा पनि सबैलाई अनुकूल हुनेगरी पोस्टप्रोडक्सनमा पनि समय लिएर प्रदर्शनमा आउन लागेको पौडेलले प्रस्ट पारे।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको 'सिन्दुरे जात्रा'को छायांकन पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट सुरू भइसकेको छ। छायांकनकै क्रममा मुख्य अभिनेता विजय बरालको हात भाँचिएपछि निर्माण टोलीले केही समयका लागि काम स्थगित गरेको छ। बाँकी छायांकन असार १५ पछि सुरू हुने जनाइएको छ।
अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीले निर्देशक सरोज पौडेलसँग यस फिल्ममार्फत दोस्रोपटक सहकार्य गर्दैछन्। यसअघि उनीहरूले पौडेलकै निर्देशनमा बनेको 'पूर्णबहादुरको सारंगी'मा अभिनय गरेका थिए, जसले नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान कायम गरेको छ।
'सिन्दुरे जात्रा'मा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा देखिनेछन्। साथै कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गीलगायत कलाकारको पनि अभिनय रहनेछ।
फिल्मको लेखन पनि निर्देशक पौडेल स्वयंको हो भने पटकथा र संवाद सविन अधिकारी तथा वसन्त न्यौपानेले तयार पारेका हुन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन्।
बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले 'सिन्दुरे जात्रा'को देशव्यापी वितरण गर्नेछ।